(समर्पण उनै युवाहरूलाई, जो इजरायलमा भएको आततायीहरूको द्वन्द्वमा आफ्नो जीवन गुमाउँन विवश बने ।)
अभावमा उब्जेका भ्वाङहरू
टाल्दै पनि
उडेका थिए उनीहरू
युवा उत्साह र ऊर्जालाई
दिवास्वप्नमा परिभाषित गर्न
बा’आमाको पाउमा शिर राखेर
आशीर्वाद लिई परको देशमा
शिक्षाको स्तरलाई अझ उचाईंमा पुर्याउन
तर समय प्रतिकूल परेछ क्यारे !
उनीहरूको दिवा सपना
रातको सन्नाटामा बद्लियो
सगर चुम्ने चाहनाहरू
बम र बारुदको धुवाँसँगै
कहाँ कहाँ विलिन भयो
मिठो कल्पनामा बुनेको
योजनाको रङ्गीन जाली रुमाल
बेघर भई उध्रिएर आकारहीन बन्यो
बा’आमालाई दिएका वचनहरू
केवल आवाजमा नै सीमित रहे
अनि देखेको सपना अधुरै रह्यो
कहाँ सोचेका थिए होलान् र ?
आमाको काख त्यागेर परदेशको माटोमा
अस्ताउँछु भनेर
बस् उनीहरू त ज्ञान र शिल्प बढाएर
आफ्नै माटोलाई उर्वर बनाउने चाहनामा
आफ्नो धरालाई छाडेर उडेका थिए
सपनाको प्वाँख लगाएर
कल्पनाको उडान भर्दै
अफसोस ! आततायीहरूको नजरमा
कहाँ छुट्टिन्छन् र ?
को सज्जन ? को दुश्मन ?
आखिर मुछिए उनीहरू पनि
साँढेको जुधाई, बाच्छाको मिचाईमा
र, बाध्य बने त्याग्न आफ्नो जीवन
बम बिष्फोटको हुङ्कारसँगै
आफ्ना चित्कारहरूलाई
मौनताको गोधुलीमा अर्पण गर्दै।
(अमेरिका)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।