“कस्ता पापिष्टहरू हुन्छन् ! यस्तो अवस्थामा पनि आफ्नो बाध्यताले म्यादी प्रहरीमा जागिर खान गएकामाथि आक्रमण गर्न जाने ? तिनीहरूका चाहिँ बाउआमा छैनन् कि ? बाबु को होला है ! यस्ता सोझामाथि ढुङ्गा प्रहार गर्ने ? चिने त त्यसलाई पनि यसरी ठहरै पार्नुपर्ने ।”

एक बिरामी कुरुवा रोहितलाई प्रश्न गरिरहेका थिए । रोहित आफ्नो बेहोस बुवालाई मुसार्दै बेड छेउमै मलिन मुहार लाएर बसिरहेको थियो । उसको मनमा त्रास, छटपटी, पश्चाताप लुकेको मुहारमा झल्किरहेको थियो । रोहितको बेचैनी देखेर उक्त मानिसले ढाडस दिइरहेका थिए -“चिन्ता नगर्नू बाबु ! धन्न तिमीजस्ता कर्तव्यपरायण छोरा थिएछौ र बुवाको चिन्ता गर्दैछौ, स्याहार्दैछौ ।”

ती मानिसको ढाडस रोहितकानिम्ति व्यंग्यवाण बनेर मुटुमा बिझिरहेको थियो । उसलाई बुवाको त्यो अवस्थाले भन्दा पश्चातापले पिरोलिरहेको थियो । केही क्षणपश्चात् बुवालाई होस आयो । अगाडि छोरा बसेको देखेर बुवाले एक्कासि कराएर भने- “तँ अपराधी, कुलंघार गइहाल् यहाँबाट । म तेरो अनुहार हेर्दिनँ ।”

बिरामीको होस आएर कराएको सुनी डाक्टर, नर्स आएर भने -“नकराउनुहोस् । किन छारोलाई कराउनु भा’को ? छोराको के दोष छ ? आराम गर्नुहोस् ।”

“यसैको कारणले मेरो यस्तो हालत भयो ।” उनले अझ छोरालाई दोसाउँदै भने ।

डाक्टरले सम्झाउँदै भने-“तपाईं त नारा जुलुसको भिडको ढुङ्गा प्रहारबाट घाइते हुनुभएको हो । किन छोरालाई दोष लाउनुहुन्छ ?”

बिस्तारमा ती घाइते बुवाले सबै घट्ना भने । -“त्यो नारा जुलुसमा सहभागी भएर ढुङ्गामुढा गर्नेमध्ये रोहित मुख्य हो । यसलाई मैले पहिलादेखि सम्झाउँदै आएको थिएँ । यस्तो नाराजुलुसमा गएर ढुङ्गामुढा गर्नुभन्दा बरु शान्ति सुरक्षामा खटिने म्यादी प्रहरी बन् । घरमा खर्च पनि आउँछ भन्दाखेरी  -“ज्यान दाउमा राखेर म्यादी प्रहरी बन्नुभन्दा पार्टीमा लागेर हुल्दुङ्गा गर्दा नै मासुभात पनि खान पाइने, पैसा पनि भनेजस्तो पाइने । को जान्छ सस्तो जागिर खान ?” भनेर “यसको बदलामा म नै गएँ म्यादी मा । ड्युटी गएको आज तेस्रो दिनमै यसैको हातको ढुङ्गाको बज्र खानुपर्यो । यो अब न मेरो छोरा रह्यो न देशको नै सक्षम युवा ।” यति भनेर घाइते बुवाको आँखाबाट तरक्क आँसु चुह्यो ।

त्यतिन्जेल रोहितलाई प्रहरीहरू आएर नियन्त्रणमा लिइसकेका थिए ।