१. परदेशीको दसैँ
रोटे पिङ खेल्न नपाई अनि न टीका लगाई
यो दसैँ पनि बित्ने भो यसै घरमा नआई
जमरासँगै आशीर्वाद दिने जननी कस्ती छन् ?
दाजुलाई सम्झी बहिनी पनि रोएकी जस्ती छन्
पियारी भोकै बसेकी होलिन् प्रसादी नखाई
यो दसैँ पनि बित्ने भो यसै घरमा नआई
दसैँको खुसी मान्न म आमा अर्को साल आउँला
नरोए प्यारी पिरती नौलो त्यै बेला लाउँला
भाग्ने भो खुसी मबाट टाढा यो मनमा नछाई
यो दसैँ पनि बित्ने भो यसै घरमा नआई ।
२. गरिबको दसैँ
हाम्रो घरमा खुसियाली छाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो
ठूल्छोरालाई जाँगे छैन स्यान्छोरीलाई जामा
धोती फाट्यो किन्देऊ भन्छे छोर्छोरीकी आमा
आफूले नि सुर्बाल फेर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो
मीठो चोखो मसिनाको भात चाख्नलाई
आँगनीमा कालो बोको बाँधी राख्नलाई
यो मन भन्छ त्यसो गर्न पाए पनि हुन्थ्यो
नत्र भने जाबो दसैँ नआए पनि हुन्थ्यो ।
-भोर्लेटार, लमजुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।