
डा. श्यामप्रसाद न्याैपाने
माटो मेरो सर्वस्व हो माटो मेरो धन
माटोले नै बनाएको बलियो छ मन
माटोसँगै लडिबुडी खेलेकै छु मैले
मृत्तिकाकै सुवासमा रमाउँछु जैले ।।१।।
सुन,चाँदी, हिरा, मोती माटोमा नै पाइने
अन्नपात उब्जनलाई माटो रैछ चाहिने
चेतनाको झिल्को बल्यो यो मनमा जैले
माटोभन्दा ठूलो धन केही देखिनँ मैले ।।२।।
विलासको साँधसीमा कैल्यै भेटिंदैन
हिरा, मोती खाई कैल्यै भोक मेटिंदैन
भोक मेट्ने अन्न नै हो प्यास मेट्ने पानी
माटो नै हो जल, अन्न, रत्नादिको खानी ।।३।।
जिन्दगीको आधार हो माटो भन्ने चीज
उब्जाउँछ यसैले नै यो हो मूल बीज
माटो भएमात्र यहाँ फल्छन् फलफूल
माटोलाई हेला गर्नु मानिसको भुल ।।४।।
जिन्दगीभर आड दिन्छ बाँच्न सिकाउँछ
छातीमाथि राखी राखी हाँस्न सिकाउँछ
क्षमाशील क्वै छ भने माटो नै हो साथी
अन्तिममा न्यानो काख दिन्छ यही माटी ।।५।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 





