श्याम न्यौपाने

 

डा. श्यामप्रसाद न्याैपाने

अचेल
दुर्योधनहरू
पङ्खफुक्का भा’छन्
पाण्डवहरूलाई हैरान कटा’छन्

महमा मौरीझैँ
भँवरा पुष्पपरागमा झैँ
दुर्योधनहरू
शकुनिको षड्यन्त्रमा
झुम्मिएका छन्
एकोहोरिएका छन्
नशालु पदार्थको सेवनले
नशावाज लट्ठिएझैँ
लट्ठिएका छन्

पाण्डवहरू
सत्याचारमा रमाउँछन्
कर्मप्रति निष्ठा राख्छन्
दशनङ्ग्रा खियाउँछन्
हार्दिकताको गण्डकी बगाउँछन्
नैतिकताको पाठ पढाउँछन्
यसैले
दुराचारी दुर्योधनहरू
सहन्नन्
पटक्कै सहन्नन्
पाण्डवहरूलाई
दुर्योधनहरू
अभिमान गर्छन् सत्ताको आडमा
अभिमान गर्छन् सम्पत्तिको आडमा
अभिमान गर्छन् शक्तिको आडमा ।