शिव पलाँस (अमेरिका)

१.
हेर्दाहेर्दै  भुइँका  मान्छे  पुगे धेरैमाथि
जनतामाथि आँखा चिम्ले बने विश्वासघाती
कसैसँग प्राण मागे,  कसैसँग  रगत
सत्तासँग साटे हाम्रो बलिदानी फगत
चिच्च्याउँ झैँ लाग्छ मलाई पिटी आफ्नै छाती ।
गरिबको दिन फिर्छ भन्थे कहाँ फिर्यो खोई ? !
किसान,  मजदुर बाँचेका छन् अझै रोई रोई
कहिले लिन्छ यो देशले विकासको गति ?
२.
सबले प्रीति गाँस्नै पर्ने के जरुरी छ र ?
लगनगाँठो कस्नै पर्ने के जरुरी छ र ?
मुटु साट्ने कति मान्छे रोएको नि देखें
ब्रह्मचारी बस्नेहरू हाँसेको नि भेटेँ
कतै एक्लो पिपल देखेँ,  कतै एक्लो वर
झेलेकै छन् आँधी  हुरी जे आइलागोस् तर ।
मान्छे हिँड्ने बाटो पनि फरक फरक हुन्छ
मान्छे पुग्ने ठाउँ पनि फरक फरक हुन्छ
कसको विचार सही ठान्ने, कसको विचार काट्ने
आफ्नै आफ्नै सुत्र हुन्छन् जिन्दगानी बाँच्ने ।
३.
धेरैपछि आज फेरि साह्रै मज्जा भयो
पिउँदापिउँदै मेरो सिङ्गै रात ढलिगयो  ।
जति चुम्यो उति मिठो गिलासको ओठ
 पिएपछि दुख्न छोड्यो हृदयको चोट
 नशा मात्रै कहाँ हो र धुवाँ पनि  पिएँ
एकै रातलाई भए पनि मस्तीसँग जिएँ ।
मात्तिएर न कसैलाई अपवित्र बोलेँ
मै हुँ भन्दै न त आफ्नै आङको वस्त्र खोलेँ
रात ढल्दासम्म पनि ज्यान त ठाडै थियो
अझै पिउँने तिर्खा थियो उज्यालो भइदियो ।
४.
फरक यही छ कोही लाखमा, कोही बिक्छ हजारमा
नबिक्ने को भेटिन्छ र मान्छेको हाटबजारमा  ?
 दर्शन छाँट्छ पैसा जाबो हातको मैलो भनिदिन्छ
 यथार्थमा त्यही मानिस धनको  दास बनिदिन्छ ।
इमान भुल्छ, जमान भुल्छ, आफ्नै स्वार्थ ठूलो ठान्छ
नाङ्गो हुन्छ, बाङ्गो हुन्छ, दौलतसँगै सती जान्छ ।
आफन्तैले लुट्छ यहाँ, पराईको के चर्चा गर्ने ?
 सबलाई  एउटै चिन्ता हुन्छ के गरेर खल्ती भर्ने  ?
५.
 त्यही हो अमर जसले केही गर्छ देशका लागि

 मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि ।

 

देशको सेवाभन्दा ठूलो कर्म के नै छ र ?

देशभक्तिभन्दा ठूलो धर्म के नै छ र ?

अँध्यारोमा जसले ज्योति छर्छ देशका लागि

मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि ।

 

माटो रुँदा जुन छोराले गर्छ बलिदानी

गर्व गर्छ त्यो छोरामा इतिहासले पनि

पर्दा मर्न जो अगाडि सर्छ देशका लागि

मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि ।