संसार नेपाली
( गैँडाकोट , हाल जर्मनी )

लुगलुग काँप्दै थियो,

मैले लुगा सिइदिएँ

उसका पैताला फुटेछन्,

मैले जुत्ता सिलाइदिएँ

उसका तालु सुकेछन्,

मैले टोपी बुनिदिएँ ।

 

मैले के पो गरिनँ उसका लागि ?

भारी बोकेँ,

सामान ओसारेँ,

जमिन जोतिदिएँ,

उसैका खेतमा अन्न रोपी

उसैको भकारी भरिदिएँ,

म आफू आधा बाँची

उसैलाई आधा बाँकी दिएँ ।

 

उसले भने,

मैले नै खापेको मन्दिरभित्र

मैले नै कुँदेको मूर्तिलाई ढोग्दै

मलाई नै सधैँ थुकिरह्यो,

शिरदेखि पाउसम्म

मैरै शिल्पहरूले सजिएको उसले

मलाई नै अछुत भनिरह्यो !