तिमी भन्छौ
“मलाई राजनीतिसँग कुनै सरोकार छैन।”
म भन्छु,
सुन..
तिमीले बिहानै उठेर निचोर्ने दन्तमन्जनभित्र घुसेर बसेको हुन्छ राजनीति
तिम्रो घरको घारामा बग्ने पानीभित्र लुकेर पसेको हुन्छ राजनीति
तिमीले सवारीसाधनमा हाल्ने तेलको थोपा-थोपामा छ राजनीति
हप्तैपिच्छे परिवर्तित मूल्यवृद्धिको हर एक पैसामा छ राजनीति
तिमीले डेढ महिनादेखि कुरिरहेको तिम्रो तलबमा छोपिएको छ राजनीति
तिमीलाई कजाइरहेको तिम्रो हाकिमको बोलीमा पोतिएको छ राजनीति
तिमीले खाने म:मको आकारमा सुटुक्क लुकेको छ राजनीति
तिमीले पिउने चियाको कपभित्र लुसुक्क पसेको छ राजनीति
तिमीले किन्ने तरकारी, फलफूलमा असरल्ल छरिएको छ राजनीति
तिमीले खरिद गर्ने अन्नका दाना-दानामा टम्म भरिएको छ राजनीति
तिमीलाई सधैं पिरोलिरहने धुँवा र धुलोमा फैलिएको छ राजनीति
तिमीले लगाइरहेको त्यो मास्कमा समेत मैलिएको छ राजनीति
तिम्रा बाबुआमाका औषधिदेखि
तिम्रा बालबच्चाका स्कुल ब्यागसम्म
तिमीले खाने नून-तेलदेखि
पहिरिने कपडा अनि जुत्ता-चप्पलसम्म
तिम्रा बेडरुमदेखि बाथरुमसम्म
तिम्रा भान्सादेखि चर्पीसम्म
तिम्रो घरदेखि टोल-समाजसम्म
र समाजदेखि देशैभरिसम्म
फैलिएको हुन्छ राजनीति
तिम्रो बिहानदेखि तिम्रो साँझसम्म
दिनभरको थकानदेखि
रातको निद्रासम्म
तिम्रो मनस्थितिदेखि परिस्थितिसम्म
तिमीभित्र
अनि तिमीबाहिर
चारैतिर
फैलिएको हुन्छ राजनीति
तिमी राजनीतिप्रति सरोकार
राख या नराख
तर
तिमीसँग प्रत्यक्ष सरोकार राखिरहेको हुन्छ
राजनीति !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।