यो विशाल सहर
तिमीले सुनेजस्तो
सपनाको सहर होइन
न त यो
तिमीले सोचेजस्तो
पैसाको सहर हो
यो त वास्तवमा
पागलहरुको सहर हो
यो सहर
सहर होइन
यो एउटा
विशाल पागलखाना हो
यहाँ
प्रत्येक बिहान
पागलहरु आ-आफ्नो
पागल कोठाबाट बाहिर निस्कन्छन्
अनि दौडिन्छन्
आ-आफ्ना
पागल अड्डा
पागल अफिस्
पागल कारखानातिर
दिनभर कफी र चुरोटको भरमा
उनीहरु जाग्छन्
अनि
रातभर्
बियर र गाँजाको भरमा
निदाउँछन्
पागलहरु
वर्षौंदेखि यसो गरिरहेछन्
र त यिनीहरु
वर्षौंदेखि
पगलाइरहेछन्
यिनीहरुका चिल्ला अनुहार देखी
जो कोही जिल्ल पर्न सक्छ
यिनीहरुका सफा कपडा हेरी
जो कोही छक्क पर्न सक्छ
यिनीहरुका
महङ्गा गाडी देखी
जो कोही
दिग्भ्रमित हुन सक्छ
यस सहरका पागलहरु
हेर्दा पागलझैं देखिँदैनन्
यिनीहरु त
उल्टै बरु टाठा-बाठा लाग्न सक्छन्
जसरी मलाई पनि पहिले लाग्ने गर्थ्यो
बिस्तारै पो मैले
बुझेको हुँ
यी धनका धनी पागलहरु
मनका सार्है गरिब हुँदा रैछन्
यिनले
न हाँस्नै जान्या रैछन्
न यिन्ले
बाँच्नै जान्या रैछन्
म पहिले सोच्थेँ
पागलहरु हाँसेको हाँस्यै गर्छन्
अहिले आएर बल्ल बुझेँ
हाँस्नै नसक्ने मान्छे पो
पागल हुँदा रहेछन्
त्यही सम्झेर
आजकाल मलाई
आफैँप्रति बडो हाँसो लाग्छ
र हाँसिरहन्छु कहिलेकसो
एक्लै आफैँसङ्ग
अनि यी पागलहरु
मलाई हेर्दै भन्छन्
” उ हेर एउटा पागल हाँसिरहेछ ! ”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।