संसार नेपाली

विद्यार्थी जीवनमा
धेरै गुरुहरुले
धेरै वर्षसम्म पढाए
थोरै मात्रले सिकाए
ती थोरै सज्जन बाहेक
बाँकी सबै
जसले गुरु भन्न लगाए
तर गुरु बन्न लायक केही गरेनन्
जो आए पढाए
र आफैँले रटाएका पाठहरुजस्तै
बिलाई गए
ती सबै गुरु भनाउँदा हरुलाई
यो विद्यार्थीको तर्फबाट
हार्दिक धिक्कार छ ।

धिक्कार छ ती गणित विषयका गुरुहरुलाई
जसले अंकगणित र ज्यामितिका
दर्जनौ सुत्रहरु घोकाए
तर तिनको अर्थ सिकाएनन्
जसले जटिलभन्दा जटिल साध्य त पढाए
तर सामान्य जीवनमा तिनको प्रयोग बुझाएनन्
धिक्कार छ ती अंकका हाउगुजीहरुलाई

धिक्कार छ ती विज्ञान विषयका गुरुहरुलाई
जसले विद्यार्थीलाई
भौतिक रसायन र जीव विज्ञानका
मोटा पानाहरुमै च्यापेर राखिरहे
तर बाहिरी संसारको विज्ञान बताएनन्
जसले खगोल र भूविज्ञान त पढाए
तर प्रकृति र प्राणी बीचको सम्बन्धबारे
केही भनेनन्
धिक्कार छ ती अवैज्ञानिक विज्ञहरुलाई

धिक्कार छ ती सामाजिक शिक्षा विषयका गुरुहरुलाई
जसले देश विज्ञानका भूगोलबारे त पढाए
तर विद्यार्थीलाई सामाजिक धरातल बुझाउन सकेनन्
जसले राजनैतिक व्यवस्था र आन्दोलन बारे त खुब भट्ट्याए
तर नागरिक अधिकार र चेतनाबारे बोल्न जरुरी ठानेनन्
धिक्कार छ
समाजको भावी रुपरेखा बिगार्ने
ती असामाजिक प्राणीहरुलाई

धिक्कार छ ती अंग्रेजी विषयका गुरुहरुलाई
जसले वर्षौं अंग्रेजी ट्युसन त पढाए
तर गतिलो अंग्रेजी बोल्न, बोलाउन जानेनन्
जो आफैंले गाइड पढेर सारांश लेखाए
तर आलोचनात्मक विश्लेषण गर्न सिकेनन् सिकाएनन्
धिक्कार छ ती अंग्रेजीका बोक्रे भलाद्मीहरुलाई

धिक्कार छ ती नेपाली विषयका गुरुहरुलाई
जसले सयौं नेपाली साहित्यकारका कथा कविता रचना सुनाए
तर आफ्ना विद्यार्थीलाई
एउटै कथा लेख्न सिकाएनन्
जसले
नेपाली हिज्जे त खुब घोकाए
तर शब्द खेलाउन सिकाएनन्
धिक्कार छ तिनीहरुलाई
जसले नेपाली पुस्तालाई नेपाली भाषाप्रति माया जगाउन सकेनन्

धिक्कार छ ती अर्थशास्त्र पढाउने शिक्षकहरुलाई
जसले विद्यार्थीलाई
विश्व अर्थशास्त्रका अनेकौं दर्शनहरु रटाए
तर वर्तमान विश्वमा अर्थको सामाजिक प्रवाहबारे बुझाएनन्
जसले अर्थशास्त्रको पाठ्यपुस्तक त पढाए
तर आफ्नै विद्यार्थी माथि आर्थिक भार पनि थोपरिरहे
धिक्कार छ
अर्थको अर्थ नबुझ्ने ती गरिब ठालुहरुलाई

धिक्कार छ ती कम्प्युटर विषयका शिक्षकहरुलाई
जसले कम्प्युटरलाई किताब भित्रै थुनेर राखे
तर विद्यार्थीलाई टाइप गर्नबाहेक केही सिकाएनन्
जसले विद्यार्थीलाई कम्प्युटरको इतिहास पढाएरै अल्झाए
तर
परिवर्तित प्रविधिको दुनियाँबारे केही सुनाएनन् देखाएनन्
धिक्कार छ ती यन्त्रमानवहरुलाई

धिक्कार छ तिनीहरु
जसले जीवनमा
कसैको गुरु हुने अवसर पाएर पनि
त्यसको सदुपयोग गर्न जानेनन्
जसले पाठ्यपुस्तक बाहिरको विद्यार्थीको जिज्ञासालाई
कहिल्यै महत्वपुर्ण ठानेनन्
जसले विद्यार्थीका टाउका मात्र गन्ने काम गरे
तर ती टाउकाभित्रका जिज्ञासाहरु
सुन्न बुझ्न चाहेनन्
जसले शिक्षालाई व्यापारमात्र बनाए
जसले किताब घोक्न रट्न मात्र सिकाए
तर तिनको भाव बुझेनन् बुझाएनन्
ती केही अपवाद
जसले शिक्षालाई आफ्नो धर्म बनाए
ती सच्चा सेवक बाहेक
सबै
जसले कलम भन्दा बढी लठ्ठी चलाए
जसले ज्ञानभन्दा बढी डर जगाए
तिनीहरु सबैलाई
यो अ जेहेन्दार विध्यार्थीको तर्फबाट
हार्दिक
हार्दिक धिक्कार छ ।