विष्णु न्यौपाने

रित्तियो प्रेम आँखामा माया छैन छ वासना
भए यान्त्रिक यी मान्छे मुटु छैन र चेतना
नक्कलीपनमा रम्छन् सत्यता खै कहाँ छ र ?
बोल्दैनन् कर्मले मान्छे धाक सच्चा कहाँ छ र ?

हजारौँ फल उस्तै छन् बोट भिन्नै भए पनि
सन्तान भिन्नभिन्नै छन् आमा एकै रहे पनि
नागबेली लता उस्तै सिधा नदी कहाँ छ र ?
धूर्तका अखडा बस्ती सिधा कर्म कहाँ छ र ?

एउटै बीजका लाखौँ बिरुवा पात एक छन्
एउटै कोखका मान्छे जति हुन् भिन्नभिन्न छन्
बुद्धिले गाँसिँदै आत्मा ऐक्यबद्ध कहाँ छ र ?
अभिमान ठुलो ठान्छ स्वाभिमान कहाँ छ र ?

उखुझैँ गुलियो हुन्न हलेदो नीम तिक्त छ
सुम्सुम्याई घुसी ब्वाँसो कलेजो, मुटु झिक्तछ
मर्ममा मर्न हे मान्छे मार्नु धर्म कहाँ छ र ?
रक्तपिपासुको कालो आत्मा सभ्य कहाँ छ र ?

मासिन्न जलको कुम्भी डढेलो सिद्धिँदा पनि
नासिन्न स्वार्थको घैँटो श्वास नै रित्तिँदा पनि
गोजी हुँदैन कात्रामा बोकी लानु कहाँ छ र ?
सन्तोषी बन्न हे मान्छे ईर्ष्या पूज्य कहाँ छ र ?

दमक, झापा