साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविता- म एक भोट

Chovar Blues Mobile Size
विश्वरसिंह मेवाहाङ

म फगत एक भोट हुँ
प्रतेक पाँच सालमा मेरो अस्तित्व नविकरण हुन्छ
र सित्तैमा रक्सी र मासु खाने मौका आउँछ मेरो पनि

मेरो अस्तित्व स्विकार गरेर
एक हुल झण्डाहरु भोट माग्न आउछन मेरो आगनमा
बिन्ती गर्छन/नमस्कार गर्छन/साष्टंग दण्डवत गर्छन
र माग्छन सिर्फ एक भोट
त्यो बेला म पनि निकै धनी भएको महसुस गर्छु
जसरी उनीहरु भोट जिते पछि धनी हुन्छन

म एक दिनको लागि
कुबेर भन्दा धनी र कर्ण भन्दा दानी हुन्छु
गणेश भन्दा विवेकी र कुमार भन्दा आज्ञाकारी हुन्छु
थाह छैन मलाई त्यसपछी के हुन्छु
मेरो ठेलागाडा/मेरो नाम्लो/मेरो चुहिने छानो
मेरो टायरको चप्पल/मेरो फाटेको इस्टकोट/ मेरो झुप्रो
सबै सबै बिर्सन्छु रक्सीको नशामा
त्यही बेहोसीमा लिलाम हुन्छ मेरो अस्तित्व

झण्डाको रंग म बुझ्दिन
पोस्टर, ब्यानर र घोषणा पत्रको अर्थ झन बुझ्दिन
बुझ्छु त केवल एक प्लेट मासु र एक बोतल रक्सी
म भइन्जेल सिंहदरबार छिर्नेहरुलाई केही दुख हुन्न

चिन्नु भो मलाई ?
म फगत एक भोट हुँ
अर्थात भेडाको मानव अवतार


                   संखुवासभा

प्रतिक्रिया
Loading...