हर्षित सारा बस्ती बस्तीमा तरङ्गित
भुसका थुप्रामा सल्किएको आगोसरि
अजर आफ्नो यात्रामा क्षेप्यास्त्र प्रहार गरि
दुस्मनका निर्दोष आत्मामा रहस्यमय
विध्वंस युद्ध रच्ने नकाबधारी
नकारात्मक भ्रुण जटायु हुँ म ।
मलाई आत्मसमर्पण गर्दै स्वागत नगर
तिम्रा रम्यभूमि क्षणभरमै उजाड बनाउने
नकारात्मक स्वर्गरूपी दिग्भ्रममिश्रित
कागले टोपी लग्यो भनी आफ्नै टाउको
नछामी कागको पछि दौडिने एउटा
कुप्रचार गर्ने जाज्वल्य भस्मासुर हुँ म ।
थाहा छैन के हो वास्तविक अवास्तविक
तिमी मलाई मान या नमान
मेरो आप्त वाक्य अनुसरण गर या नगर
जताततै विखण्डनको बीज छर्ने
रम्य भूलोक पुनः सिर्जनाभई
हर्षाश्रुले दुःख दर्दहरू पखालिएको
दृश्यावलोकन गर्न नसक्ने
अतिरञ्जित दूराग्रही जासुस घमन्डी हुँ म ।
हृदयभरि अझै पनि ताजा छ ती स्मृतिपटमा
हामीसँगै सुखान्त र दुःखान्तका सहयात्री बन्दै
एकले अर्काको रक्षाकवचरूपी विजयास्त्रको
रूप धारण गरि हृदयग्राही बनी
एकाकार भएको साक्ष्य हुँ म ।
अब केवल मेरा ती पल स्मृतिमा मात्रै रहे
त्यसैले बन्दै छु आज एक नकारात्मक
बीभत्स बीजाणु विषको वृक्ष जसको
एक निमेष तिमी सामना गर्न सक्तैनौ
अनि समाप्त पार्दै आफ्नो सच्चा रूप
तिमीले चाहेर वा नचाहेर आखिर
जे गरेर जे भएर पनि अन्ततः
अनायासै मैसँग विलीन हुन पुग्छौ र त
म अझैँ गर्वका साथ चर्चा गर्दै छु
यी भू–ब्रह्माण्ड विखण्डनकारीको
प्रमुख नाइके जघन्य अपराधी हुँ म ।
तिमी चाहे ठान अथवा नठान
अटल धरहरा उठेकोमा खुसी नहुने
सारा नेपालीका शिर उठ्नुपर्छ भन्दै
एक्लो अजर अबोधगम्य गन्तव्यमा लम्कने
यी सारा सकारात्मक सन्देश सच्चाइको
विकास विरोधी हुँ म ।
हर प्रहर हुन्छ मेरै असम्भावित विजय
हुँङ्कारले गर्भिलो चौडा हुन्छ छाती तब
म जहाँ पुग्छु त्यहीँ हुन्छ मेरो जय जयकार
अब यी सारा प्रमाणको हर किस्सा खोज्ने
जिम्मा दिन्छु आखिर को हुँ म ? ।।