जिन्दगीको योजना तर्जुमा
आफ्नै घरको योजना तर्जुमा
निर्माण गर्दैगर्दा
कुन्नी किन हो नमिलेजस्तो लाग्छ
जिन्दगी यथार्थपरक बनाउन
बनाएको पाँच वर्षे आवधिक योजना
आफ्नै नीति कार्यक्रमका साथै
वार्षिक बजेट तथा योजनासँग
तालमेल मिलाउन नसकेर
हैरान भएको छु म ।।१।।

विषयक्षेत्रगत रुपमा
मध्यमकालीन तथा दीर्घकालीन योजना
बनाउन कता कता अल्मल्लिरहेको छु
योजना र खर्चको स्रोतको त
छेउटुप्पो नि मिल्दैन
योजना तर्जुमा
दिग्दर्शनले भनेका सबै कुराहरू
अक्षरशः पालना गर्न खोज्छु
तर कता कता अल्झिन्छु वरिपरि ।।२।।

मेरो परिवारलाई
मेरो घरदैलोमै सरकार छ भन्ने
अनुभूति दिलाउन म सक्छु कि नाई
सोचनीय विषय छ
यता घरसदस्यहरू दिनरात
आ-आफ्नै योजना पार्न
मरिमेटी लागिरहन्छन्
मेरो घरकै कानुनबमोजिम
घरसभामा बजेट पेस गरिसकेर
घरकै कार्यपालिकाबाट स्वीकृत भई
असार मसान्तभित्र पारित गर्नु पर्ने
आगामी वर्षको बजेटको
चटारोमा छु म ।।३।।

अनुदान त मेरो घरमा कसैको चाहिँदैन
अघिल्लो वर्ष खर्च हुन नसकेको मौज्दात रकम
केही छैन, तर पनि
बजेट न्यूनतालाई पूर्ति गर्न
आन्तरिक ऋण नलिने गरी
बजेट ल्याउने अठोट गरेको छु।।४।।

मेरो घरको योजना बनाउँदा
टोल, समाजको
नीति, लक्ष्य, उद्देश्य र प्रक्रियासँग
तादात्म्य हुन सकेका छैनन्
किनकि मेरो घरको
क्षमताले नभेट्टाउन पनि सक्छ
अथवा नजानेर हुन पनि सक्छ
तर इमान्दारीका साथ
आफ्नै घरका लागि
समयमै
मेरै घरको स्रोत साधनले भ्याएसम्म
नीति तथा कार्यक्रम बनाउँछु
यथार्थपरक योजना तथा बजेट ल्याउँछु ।।५।।

००० ०००

 

धुम्बाराही, काठमाडौँ