साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोभिड–१९ र भोको पेटको चित्कार 

कविता

ए हजूर,

दिनहुँ भोक बोकेर

मृत्युसँग लडिरहने

bahulako diary small and inside post

गरीबको रित्तो पेट

यो कोरोना भाइरसले

भर्छ कि भर्दैन?

 

गरीबको भोक झेल्ने

इम्युन सिस्टमसँग

कोभिड–१९ को सेना

युद्ध लड्छ कि लड्दैन?

 

खान पाउँ

बाँच्न पाउँ हजूर

भनी

गरीबको मुटुले

हारगोहार गरिरहेको

ढुकढुकी

यो कोरोना भाइरसले

सुन्छ कि सुन्दैन?

 

कहिल्यै धीत मारेर

पिउन नपाएका

गरीबका ओठहरुका

अतृप्त प्यासहरु

यो कोरोना भाइरसले

मेट्छ कि मेट्दैन?

 

लकडाउन छ

साँघुरा गल्लीहरु

र मैला झुपडीहरुतिर

छिरेर

कुनाकाप्चामा

एकान्तवास गरिरहेका

परित्यक्त

जीर्ण शरीरका

बा आमाहरु

र असहाय

बालबालिकाहरुको घाँटी

यो कोरोना भाइरसले

रेट्छ कि रेट्दैन?

 

रित्तो चुलो

असरल्ल छरिएका

भाँडाकुँडाहरु

भुन्भुन्ती

झिंगा भन्किएका

सडेगलेका राशहरुमा

मृत्युको खील

यो कोरोना भाइरसले

गाड्छ कि गाड्दैन?

 

उजाड छानामुनि बस्ने

चर्किएको भित्तामा

ओत लिएका

घैमलको राशमा जिउने

इम्युन बढाउने खान्की

कहिल्यै नदेखेका

स्यानिटाइजर

कहिल्यै नछुएका

निमुखालाई

ए हजूर,

यो कोरोना भाइरसले

खोजी खोजी

शिकार गर्छ कि गर्दैन?

 

चरम गरीबीमा जिउने

आँत सुकिरहेका

भोकले क्रमशः मरिरहेका

जीर्ण शरीरका लागि

ए हजूर,

यो कोरोना भन्ने जिनिस

माथि माथि घाँटीमा

र छातीमा मात्र बस्छ

कि तल रित्तो भोको

पेटतिर पनि झर्छ?

प्रतिक्रिया
Loading...