शङ्कर

तोटक छन्द

अति रोग बढ्यो भवमा भुलले
 सब मानिस जीर्ण भए भयले
अब प्राण बचाउन यी दगुरी
यस सङ्कटमा अति दुःख सहे।।१
शवमात्र जले सब घाटभरि
छ अनेक पुकार विलापसरी
जब डाक्टरको पनि दोष सुने
कसरी जन यी सब रुष्ट भए ।।२
सब कोसिस रोक्न भए विफल
तब रोग बढ्यो लिन प्राणबल
नतमस्तक भो सब विश्व यहाँ
यसरी अझ जीवन त्याग्नु कहाँ ?३
जन यी तब लौ अति कम्पित छन्
अझ विघ्न बढ्यो यसका बिच झन्
मुख छोप्छ यहाँ अनि नाक पनि
घरमा सब बाध्य छ लुक्न पनि।।४
सब मार्ग र हाट छ बन्द यहाँ
सब मन्दिर मस्जिद बन्द यहाँ
सकल स्कुल क्याम्पस बन्द यहाँ
सब देश र विश्व छ बन्द यहाँ ।।५
यसरी कसरी भव चल्छ भन ?
सब मानव जीवन निभ्दछ झन्
जब छैन दवाइ बुझेर अरू
अब सभ्य बनीकन बाँच बरु।।६
डुवर्स, भारत