सुस्केर हाल्दै बहेको यो बतास
एकदिन मेरो नजिक आयो
अनि मेरो काँधमा धाप मार्दै भन्यो-

“बधाई छ मनुष्य तँलाई,
अति प्रगति गरिस्
मेरो अस्तित्व मेट्नलाई
सदैव अग्रसर रहन्छस्
र एकदिन तैँले मलाई अवश्य
पराजित गरी मेरो अस्तित्व मेट्न सफल बन्नेछस् ।”

यो सुनेर म गजक्क भई
आफ्नो शक्तिप्रति अभिमान गर्दछु ।

त्यसरी नै एकदिन फेरि
शीतल जलका थोपाहरू
मेरा सामु आउँछन् र
मेरो काँध थपथपाउँदै भन्छन् –

“तिम्रो सामर्थ्यप्रति बधाई छ तिमीलाई
मेरो अथाह जलप्रवाहलाई
छेक्न तिमी सक्षम छौ
एकदिन अवश्य तिमीले
जित्नेछौ र म हार्नेछु
मेरो प्रत्येक थोपा
धराबाट विलीन हुनेछ,
अग्रिम बधाई मनुष्य तिमीलाई ।”

यो सुनेर त झन् म अहंले मात्तिन्छु र
आफ्नो सामर्थ्यप्रति गर्व गर्छु।

त्यसरी नै फेरि एकदिन
यो भूमि मेरो नजिक आउँछिन् र
मेरो काँध थपथपाउँदै भन्छिन् –

“बधाई छ मानव तिम्रो प्रगतिमा
जुन तिव्रताले तिमी शहरीकरण बढाउँदैछौ
एकदिन अवश्य तिमीले
जित्नेछौ र म हार्नेछु,
त्यस दिन यहाँ एक टुक्रा
जमिन पनि रहने छैन
र मेरो अस्तित्व सदाको निम्ति
मेटिएर जानेछ,
अग्रिम बधाई मनुष्य तिमीलाई ।”

यो भूमिको यो कुरा सुनेर
मलाई दया लागेर आयो।

उसरी नै एकदिन
सारा प्रकृति मेरासामु आइन्
मेरो काँध थपथपाउँदै भनिन् –

“बधाई छ मानव तिमीलाई
तिमीले दैनिक मेरो
नरसंहार गरे तापनि
म चुपचाप हेर्नबाहेक
केही गर्न सकिरहेको छुइनँ
एकदिन अवश्यै तिम्रो जित हुनेछ
र मेरो हार,
त्यसदिन म धरासायी भएर
भुइँमा ढल्नेछु कहिल्यै नउठ्ने गरी
त्यो दिन अवश्य तिम्रो जित हुनेछ
बधाई मनुष्य बधाई ।”

प्रकृतिको यो कुरा सुनेपछि
साँच्चै मलाई सत्य थाहा भयो
पृथ्वीमा म नै शक्तिशाली रहेछु ।

डुवर्स, भारत।