भूपाल आचार्य

तिमीले ‘एभरेस्ट’ चुम्‍ने कुरा गर्‍यौ
मैले, पहिले ‘नाम्चेबजार’ पुगौँ भनेँ
तिमीले ‘रारा’मा ‘डाइभ’ हान्‍ने गफ दियौ
मैले, पहिले स–साना जङ्घार तरौँ भनेँ
तिमीले आकाशमाथि जूनताराका उडन्ते कुरा गर्‍यौ
मैले, पहिले धरतीमै दरिलो पाइला टेकौँ भनेँ ।

अरू घोडा चढेको देखेर तिमी धुरी चढ्यौ
मैले, घाँटी हेरेर पो हाड निल्नुपर्छ भनेँ
तिमीले गरिबको गाँस खोसेर
एउटा प्रहसन मञ्चन गरौँ भन्यौँ
मैले गरिबको आँसु पुछ्ने कुरा गरेँ ।

बस् !
तिम्रो र मेरो कुरा नमिलेको यत्ति हो ।

तिमीले गौँडो ढुकेर बस्यौ
म घुम्तीमा अलिकति चुकेँ
सुमसुम्याउँदै छु अहिले पनि
घाइते छातीको देब्रे पाखो ।

ठिकै छ, मित्र
सृष्टिको रीत हो
दिन–रात चलिरहन्छ
पृथ्वी गोल छ
फन्का मारिरहन्छ ।
अजम्बरी को छ र यहाँ ?
एकदिन सबले मर्नु नै छ ।
‘सिकन्दर’को खाली हात
इतिहास साक्षी छ ।

जब,
दर्शनले नै पीठ फर्काइसकेपछि
विचारमा नै चिरा परिसकेपछि
सिद्धान्तले नै सिँगाउरी खेल्न थालेपछि
बाटो त अलग हुने नै भयो
थाहा छैन, तिमी पुगौला कहाँ ?
थाहा छैन, म पुगुँला कहाँ ?

र,
अन्तमा, भन्नुपर्ने कुरा एउटै छ
बेकसुर सहयात्रीमाथि घात गरेको कसुरमा
आफ्नै सपनाहरू बरबाद गरेको अभियोगमा
मनको कठघरामा उभिएर मनसँग मनले
साबिती बयान दिनुपर्दा
त्यो दिन तिमीलाई पछुतो नहोस्
पश्चात्तापको अग्निमा तड्पिनुनपरोस्  ।

तिमी आराध्य छौ ‘खोपी’मै बस भनेकै हो
‘रछान नै प्यारो छ’ भन्छौ भने
केवल ‘राम’ भन्न सकिन्छ मित्र
काँध थाप्न सकिन्न ।

तिम्रो यात्रा सफल रहोस्
शुभयात्रा !