चल्दै छ स्वार्थको हुरी
जोगाउनु छ स्वाभिमानको दियो
छोपेर आफ्नै इमानको पछ्यौरीले

पन्छाउँदै चाप्लुसीको वनमारा
रोप्‍नु छ आदर्शको बिरुवा
सोहोरेर लालचको रछ्‌यान
सुकिलो राख्नु छ नैतिकता

किस्तीमा सजिएर टेबुलमै आइपुग्छ “प्रतिष्ठाको पद”
खाऊँ कि त भन्छु
ह्वास्सै गन्हाउँछ सडेको सङ्गठन

खुराफाती रुमालले छोपिएर
चाकडीको ढकियाभरि आउँछ
भत्ता र सुविधाको मालपुवा
चाखौँ कि त भन्छु
देख्दै दिगमिग दिगमिग हुन्छ
फ्यात्त कुहेको दलको ढुसी

“ल, ‘मिसेज’लाई खास्सा को जागिर !”
नियुक्तिपत्र टक्र्याउन आउँछ समाजसेवी
‘साइडमा’ बोकेर पार्टीको ‘साइडब्याग’
झुकाउन मेरो स्वाभिमान
“ल, बाबुको शुल्क मिनाहा,
‘मेगा स्कुलमा’ आवासीय सुविधा !”
लोभी ललिपप देखाउँदै आउँछ व्यापारी
निचोरेर गरिबको रगत, पसिना
चढेर दलालीको टल्किने गाडी
भत्काउन मेरो आत्मविश्वास

पाहुना बनेर आउँछ साथी
आपत् आइलाग्छ पैसाको
चिया, चिनीको जोहो कसरी गर्नू !
पाहुना बनाउन आउँछ साथी
सङ्कट आइलाग्छ पैसाको
कोसेली के लिएर जानू !

परारैदेखि हो बिर्सेका आफन्तहरूले
देखेर शून्य सञ्चितिको बैंक खाता
पोहोरैदेखि हो तर्किन थालेका हितैषीहरू
बुझेर सदाबहार रित्तो खल्ती
ब्याजको स्याज जोडेर
लिलामीको सूचना छाप्दै
उठीबास लाउन
तम्तयार छ बैंक ब्वाँसो
अचेल
कालो सिसावाल गाडीमा कालै चस्मा लाएर
निस्कन्छ घरबाट छिमेकी लाहुरे
कतै, अशुभ नहोस् उसको शुभसाइत
देखेर मेरो दरिद्र अनुहार

पाइला पाइलामा टेक्दै
छिचोल्नु छ अभावका काँडा
पल पलमा पिउनु छ
अपमानको हेमलक

तैपनि,
जोगाउनु छ स्वाभिमानको दियो
छोपेर आफ्नै इमानको पछ्यौरीले

किनकि
म शिक्षक हुँ
आफू जलेर प्रकाश छर्ने
मैनबत्तीको शिखा हुँ
यो देशका नानीहरूको भविष्य मेरै हातमा छ
यो देशको जिम्मेवारी मेरै काँधमा छ
देशमै बसेर देशकै लागि
देश चिनाउने सङ्कल्प गर्दछु

किनकि म शिक्षक हुँ ।

तुलसीपुर–१७, मानपुर, दाङ