
मधुसूदन भट्टराई
हामीले पाँच बर्ष सम्म
आमाको ममतामयी छत्रछायामा
सुरक्षित र व्यवस्थित भएको
अनुभूति गरिसकेकाछौँ
अब हामीलाई
तँइले दिएको प्रपीडक आसन चाहिँदैन
हामीले पाँच बर्ष सम्म
आमाको मुखारविन्दबाट
उत्साहक कहानी र
मार्गदर्शक वाणी सुनिसकेका छौँ
अब हामीलाई
तँइले बोलेको बकम्फुसे भाषण चाहिँदैन
हामीले पाँच बर्ष सम्म
आमाको न्यानो वक्षस्थलबाट
आधिकारिक प्रजातन्त्रको
रसिलो स्वाद चाखिसकेकाछौँ
अब हामीलाई
तँइले खिलाएको बिटुलो रासन चाहिँदैन
हामीले पाँच बर्ष सम्म
आमाको व्यक्तिगत जीवनीबाट
व्यापकता र समानताको
सकुशल अनुशासन सिकिसकेकाछौँ
अब हामीलाई
तँइले बनाएको सङ्कुचित शासन चाहिँदैन
त्यसैले यो धर्मयुद्धमा
या त म रहन्छु
या त मेरो मातृभूमि रहन्छ
या त तिमी र हामी सबै रहन्छौँ
तर यो कुरा पक्का छ कि
तँ रहन्नस् …. हो …. तँ रहन्नस्
सम्बन्ध – बर्मादेशको वर्तमान राजनीति
मिति – 5/3/2021 ( शुक्रवार)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 





