अभावले हानेको ऋणको भकुण्डो
आज हवाई मैदानमा तैनाथ
खाडीमा गोल हुँदैछ
सुन्दर सपनाहरुले लपेटिएको
गह्रुँगो ऋणको भारीको सकस बोकेर
खाडीको घाममा चर्किएको छ, त्यो घर्देश
थोपाथोपा रिमिट्यान्स तुप्लुक-तुप्लुक
खसेका छन् चिउँडाबाट
समृद्धिको बिकुलभरि देश गुन्जेको छ
चिल्ला गाडी र सुकिला कोटहरुमा
श्रृगांरिएका छन् नेताहरु
अख्तियारको का…..लो चस्मा अगाडि
धमिलिएका छन् टेबल मुनिका कट्कटेहरु
सयौँ वर्षसम्म शुद्ध पानीको मेलम्चीमा
महामारीको तिर्खा बोकेर, बिना टिकट
परलोक उडेका छन् भोटहरु
रिमिट्यान्सको टालो भिजाएर
भिजाउँदै छ आफ्नो सिमेन्टको जंगल, यो सरकार
स्विजरल्यान्ड र न्युयोर्कको तस्बिर टाँसिएको
भित्तामुनि बसेको स्व-रोजगारको बैठक
आज पनि बिना निष्कर्ष टुंगिएको छ
तर, यता हवाई जहाजको फिरफिरेमा
झुन्डिएर फेरि उडेको छ, देशको विकास
अनसन बसेका छन् खेतका पाटाहरु
मलखादमा थिचिएका छन् उर्वर बिऊ बिजनहरु
चुहिएर मकिएको सुनसान कटेरोमा
हारेको युद्ध सुनाउँदै छ हलो
आफ्ना मित्र जुवा, फाली र नाइरोलाई
मन्चबाट छादिएको समृद्धिले
बस्ती बस्ती दुर्गन्ध फैलाएको छ
नेताहरु संविधानमा गणतन्त्र खोकिरहेका छन्
एउटी आमा बाकसमा सपना थुनेर उत्रेको छोरो खोज्न
लाइन बसेकी छन्, हवाई मैदानमा
यता फेरि अर्की आमा आफ्नो छोरालाई
आकाशमा उडेको जहाजमा
उसको भविष्य देखाउँदै छन् ।
पर्वत नेपाल,
हाल – बस्टन, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।