 
			
			
			
			
			
			काला छिर्काहरू उड्छन्, आँखाबाट सयौँ सयौँ
बज्दछन् दुइटै कान, भन्दै हा ! निम्छरा भयौँ
सुनिँदैन कठै कान, आँखा झन् धमिला भए
काँप्ऱ्छन् थरथरी खुट्टा, मांसपेशी ढिला भए ।
रोकिन्छझैँ गरी मानौँ, मुटु हल्लिन्छ बेसरी
बुढेसकालका काल, काटिएलान् कसो गरी ?
झरिला बैँसका बेला, हेर्दा हेर्दै कथा भए
अचम्मै लाग्छ हे राम !, त्यस्ता दिन कता गए ?
बैँसका मुखमा धैँसो, दलेछ कि उमेरले
गर्मीले देह पोलेझैँ, या फलाम ठठेरले
बियाँ दारिमका जस्ता, मिलेका दन्त पङ्क्ति ती
थिए फटिकझैँ सेता, पहेँला पो भए अति ।
एउटा दुइटा गर्दै, झर्न थाले कठैबरा
यता झुत्रा बने छाला, फुटे खुट्टा चिरा चिरा
भयो नाक उसै बाङ्गो, नाङ्गो तालु हुँदै गयो
गडे छन् पोटिला गाला, डँडाल्नो कुप्रिँदै छ यो ।
उछिट्टिन्छन् कुरा गर्दा, सहजै थुकका छिटा
साह्रो खान हुँदैहुन्न, चाहिन्छन् झोलिला,लिटा
चुहिन्छ सजिलै ऱ्याल, जिब्रो लरबराउँछ
लठेब्रो मनुवाजस्तै, बोली लटपटाउँछ ।
कुशाग्र मतिको मान्छे, रक्तमा गुलियो बढी
कम भो सम्झने शक्ति, रक्तचाप उँभो चढी
कहिले झर्दछ स्वात्तै, भनभनी रिँगाउँछ
कहिले चढ्छ र ह्वात्तै, साह्रै भाउन्न आउँछ ।
उच्चारण थियो स्पष्ट, ऐले थलबले भयो
परेछ चुहिने भाँडो, जिन्दगी चुहिँदै गयो
हुन्न पेट सधैँ ठीक, बिग्र्यो पाचन पद्धति
असमान भएको छ, श्वासप्रश्वासको गति ।
खलाँतीझैँ गरी स्वाँ स्वाँ, फोक्सो फुल्छ बराबर
फुस्किन्छझैँ गरी प्राणै, खोकी लाग्छ निरन्तर
सकिँदैन कतै जान, आँगनै परदेश भो
लाग्छ जीवनको खेल सिद्धियो, कीर्तिशेष भो ।
सुन्निन्छन् दुइटै पाउ, रक्त पानी भएछ कि
यमका लोकमा मेरो कुराकानी भएछ कि
बताएर कहाँ सक्नु पीडा बुढेसकालका
बरु भजनमा लागूँ रामका नन्दलालका ।
भिन्दै किसिमले काम्छ, घाँटीका छेउको नसो
भन्छन् अन्तिम-सङ्केत, बेला आएछकी कसो
उपचार पुगेसम्म, गर्नू चिन्ता नलीकन
उपाय सकिए मर्नू, मर्ने विधि सिकीकन ।
नर वा नरकङ्काल गाह्रो छुट्ट्याउनै पऱ्यो
सोस्यो समयले स्वात्तै, जिन्दगी जिउँदै मऱ्यो
परन्तु हे महाशक्ति ! यति साहस दान दे
नडराई मरूँ तेरो भक्तिमा, वरदान दे ।
(सम्झूँ अन्तिममा तेरो नाम यो वरदान दे)
(उपसंहार)
उपादान उसैको हो, उसैको हो विधान यो
ऊ निस्केर गएदेखि छ ब्रह्माण्ड बिकामको
सोह्रसंस्कारमा पर्छ, आवागमन-शृङ्खला
ईश्वरैले समेट्ने छ, मृत्यु ईश्वरको कला ।
(काव्यको समीक्षा गर्न जति गाह्रो छ त्यो भन्दा गाह्रो कविलाई चिन्न । व्यक्तिगत तहबाट चिन्न कठीन न होला तर कविको कृतित्वको माध्यमबाट कविको व्यक्तित्व चिन्न भने त्यति सहज हुँदो रहेनछ ।
अब कल्पना गर्नुहोस् एउटा यस्तो नेपाली समाज जहाँ नेपाली भाषीको जनावधि अल्प संख्या मात्र छ, जहाँ भाषालाई जातीय अस्तित्व हराउँछ कि भन्ने भयले अक्षर चिनाउनेमा मात्र सीमित हुँदैछ, जहाँ नेपाली साहित्यिक पुस्तकको खडेरी छ, जहाँ शुद्ध नेपाली बोल्ने विरलै पाइन्छ । हो, यस्तो समाजको परिवेशमा पूर्ण कवि जो जीवनभर छन्दबद्ध, पद्य काव्यलाई गहिरो प्रेम गरेर निरन्तर सेवा गर्नु भनेको अकल्पनीय छ । प्रशंसनीय र साथै सराहनीय पनि छ ।
काव्यलाई जीवन र जीवनलाई काव्यमय मानेका कवि टेकनारायण रिमाल “कौशिक” पद्य प्रेमी कविहरूको माझमा सुपरिचित व्यक्तित्व हुन् । म्यन्मार (बर्मा) को साहित्याकाशमा ध्रुवतारा झैं चम्किएका कवि गजल, मुक्तक, तांका, हाइकु, भजन, गीतमा पनि उत्तिकै सशक्त छन् । उनको दुई मुक्तकसंग्रह प्रकाशन भइसकेको छ । उनी हिन्दीमा पनि कलम चलाउँछन् र उनका हिन्दी फुटकर कविताहरू भारतका पत्र-पत्रिकामा समेत प्रकाशित छन् ।
नेपाली भाषाप्रति श्रद्धा र माया गर्ने भावुक कवि भाषालाई मनपरी अशुद्ध लेखेकोमा खेद प्रकट गरेको देखिन्छ । व्याकरणको ज्ञान राम्रो भएका कवि कौशिकसँग अन्य लेखक कविहरूले सरसल्लाह लिने गर्दथे ।
स्वयम्लाई समर्पित गरेर मरुभूमि तुल्य यो समाजलाई हरियाली बनाउने कविको जमर्को बीचैमा दुःखद विराम लागेको छ ।
“बुढेस काल“ कविता कविको अन्तिम कविता हुन गयो । देहान्त हुनुभन्दा ठीक ३६ दिन अग्रिम लेखिएको अनुष्टुप छन्द कविता कविले बुढेसकालको आफ्नै अनुभूति व्यक्त गरेको देखिन्छ । मानवीय संवेदनाको गहिरो पाटोलाई सृजना गरेको यो कवितामा कविले मृत्युको आभास अग्रिम नै पाएको बुझिन्छ । वहाँले गत श्रावण १० गते याङ्गौ आफ्नै निवासमा सदाका लागि आँखा चिम्लिनुभयो । वहाँको आत्मालाई परम धाममा चीर शान्ति मिलोस् भन्ने शुभकामना गर्दै… – म्यान्माका नेपालीभाषा अभियन्ता सोमो रिजाल)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	




