जलनको शिखा

तिमीले बुझ्नुपर्ने हो
मान्छेको असली दुस्मन आफ्नै मन हो
र असली मित्र पनि आफ्नै मन हो ।

तर तिम्रो जलनको आयतन
फराकिलोको सीमा पनि नाघेर फराकिला भएछन्
इर्ष्याको आगो
डढेलो बनेर फैलिएछ तिमीमै

तिम्रो जलनको फैलावट
जतिसुकै फराकिलो भए पनि
मभित्र बगिरहने हिमनदी डढाउन सक्दैन !

** ** ** **

नरोक आँसुको गजबारले

स्वर्गको बाटो होस्
वा होस् नरकको गल्ली

होस् त्यो मखमली सडक
वा होस् काँडैकाँडाको ओछ्यान

ननिस्कनु निस्किसकेपछि
के फरक पर्छ र !

यात्रि बनेर होस्
वा होस् शव बनेर नै

उमंगले होस्
वा होस् परिबन्दले नै

नहिंड्नु हिंडिसकेपछि
के फरक पर्छ र ?

यसै त म
तिम्रो नजरमा मरिसकेकी रहेछु
भैगो, नरोक अब
आँसुका गजबारले

लासलाई जति नजिक राख्यो
लासलाई जति समय राख्यो
उति गन्हाउँछ
र खुम्चिन्छ तिम्रो इज्जतको लेखडाँडा !

** ** ** **

धुरीखाँबो

म दाउरा हूँ
म काठ पनि हूँ
बुझ्यौ भने
इज्जत ढाक्ने तिम्रो आँगनको बार हूँ
तिम्रा बुढा बा-आमाको टेक्ने लौरो पनि हूँ

म काठ हूँ म दाउरा पनि हूँ
धुरीखाँबो हूँ, थामिरहेछु कुल !
आँखीझ्याल हूँ
जहाँ तिमी आड लिएर हेरिरहेछौ दुनियाँ ।

खरिपाटी हूँ
जहाँ तिमी लेख्नू
जीवनका सुमधुर गीतहरू

म त थाँक्रो हूँ
तिमी झाँगिनू
फलाउनू
कुनै हाँगामा अहिलेसम्म फल्न नसकेको फल ।

म त फ्रेम हूँ
सजाउँदै तिमीलाई आफैंभित्र
तिम्रै मझेरीमा पोष्ट गरूँ
जहाँ प्रेमका वर्षातहरूले लभ रियाक्ट गर्न सकुन् ।

मलाई झुक्किएर पनि बनाउन नखोज्नू बिंड
जहाँ मैले ना‌ङ्गो तरबार नाच्नुपरोस्
र, तास्नुपरोस् तिम्रै सभ्यता ।

बनाउन नखोज्नू दराज
जहाँ लुकाउनुपरोस् रहरहरू
र, ढुसी लाग्नुपरोस्

नघचेट्नू आगोमा
बनाउन नखोज्नू समिधा
जुन दिन लम्बाइ मेटिंदै खरानी हुनेछु
धमिलिने छ तिम्रै आकाश

म दाउरा हूँ
म काठ पनि हूँ
बरु बनाउनू मलाई बेलना
जसले बेलेपछि आफैंलाई
मगमगाउन सकूँ मानव- सभ्यता ।

(अमृता स्मृतिको कवितासंग्रह ‘नदीको तिर्खा’ बाट)