हित बहादुर थापा मगर

कदापि हुनु हुन्न अब निराश अनि शून्य
आऊ गरिबीले आहत भई पिल्सिएका
हे मेरा परमात्मीय मित्र हो
हरदम आफ्नै साथमा भएको
कल्पनाको अजर खेती गरी
दुःखात्मक पीर, व्यथालाई भुल्दै
विश्वमानचित्रमा कहलिएको
धनाढ्य कुबेरभन्दा
सुखात्मक जीवन बाँच्न सिकौँ ।
हो जो मनुष्य आज कल्पनाको
आधुनिक खेती गर्न नसकेर
निचोरिएका कागतीका बोक्रासरि
अपहेलित बन्दै बनाइँदै
कल्पनाहीन बन्न पुग्दछ
त्यही अपहेलना गर्ने मनुष्य आज
फुस्रा इज्जत र बोक्रे रवाफमा
खोक्रो ढोँगको पगेरी लगाउँदै
आफैँले आफैँलाई महाप्राज्ञ तक्मा भिराउँदै
मपाइँत्वको तासको सुन्दर महलभित्र
सयौँ रोग र भोकले सताइएका हुन्छन् ।
अबोध भई क्षणिक सुखात्मकतामा रमाउनुभन्दा
शिक्षित एवं विलक्षण प्रतिभावान् बनी
आत्मस्वाभिमानयुक्त राज्यको बीजारोपण छरी
उजाड मरुभूमिमा हरियाली बीज सिञ्चित गरी
अङ्कुराउँदै फुल्दै फल्दै गरेको मातृत्वलाई
दीर्घायुको कामना गर्दै एक कुशल
नैतिकवान् अङ्गरक्षक बनौँ ।
भौतिक सत्य जीवनमा रोग र भोकले सताएर के भो
आऊ हामी मिलेर एउटा बालुवाको कणमा
सिङ्गो संसारमा भएका रमणीय पल खोजौँ
अनि एउटा फूलको थुँगामा
सिङ्गो विश्वजनमानस हाँसेको
सुखात्मक जीवन प्राप्त गरी आपसमा
सद्भाव साटासाट गर्दै मुस्कुराएको अनुभव गरौँ ।
अब हामी हीनताबोध गर्दै भावुकतामा
मार्मिक जीवनलाई आत्मसात् गर्ने होइन
कल्पनामै रम्दै बुद्धि र विवेकको प्रयोग गरी
जिज्ञासु र कल्पनाशील बनी
विश्वलाई समृद्ध बनाउँदै हर्षित बनाउने
गहन वैज्ञानिक आविष्कार गरौँ ।
अनि यसैभित्र खोजौँ
हामीबीच हुँदाहुँदै सदियौँदेखि टाढा भई
हराएको स्वाभिमान ।
आऊ सभ्यताको ज्योति बाली हराएका ती
सुखात्मक भौतिक विकास खोजौँ
जहाँ हामी कल्पनाभित्रै स्वर्गमा प्राप्त हुने
स्वर्गीय आनन्दानुभूति गर्न सकौँ ।
आफूमा रहेको ईश्वरीय शक्ति प्रयोग गदैँ आऊ
आधुनिक सभ्यताका नाममा यान्त्रिक जीवन
बाँचेका महामानवलाई नैतिक जीवन बाँच्नका निम्ति
सुशासनयुक्त दृष्टि देखाउने आँखादान गरौँ
अनि यसैभित्र स्वाभिमानले राज गरेको
समुन्नत समाजको निर्माण गरौँ ।
यही भौतिक सत्य जगत्‌मा अनैसर्गिक
दुःखदायी र कुरूप जीवन भोगिरहेका
हे महामानव हो ! आऊ अब हामी
काल्पनिक रङ्गमञ्चको सत्यभित्र पौडिँदै
नैसर्गिक सुखदायी र सुन्दर जीवनको
परिकाल्पना गदैँ रम्दै रमाउँदै
नयाँ सृष्टि निर्माण गरौँ ।
अनि यसैभित्र
भौतिक सांसारिक पीडाहरूलाई भुल्दै
काल्पनिक सुसभ्य साम्राज्यमा
निःस्वार्थ मुस्कुराइरहेको स्वाभिमानलाई
मलजल गरी सुखी अनि समृद्ध
जीवनको यथार्थ भूलोक कायम गरौँ ।