साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविता- म के गरुँ ?

Chovar Blues Mobile Size

म सुझाव दिन्छु,
तिमी गाली सम्झिन्छौ त म के गरुँ ?
म भलो चिताउँछु,
तिमी दुष्टता सोच्छौ त म के गरुँ ?
म प्रशंसा गर्छु,
तिमी खिल्ली उडाको मान्छौ त म के गरुँ ?
म ब्यङ्गय गर्छु,
तिमी सोझो अर्थमा बुझ्छौ त म के गरुँ ?
म सिकौं भन्छु,
तिमी आफूलाई ज्ञाता ठान्छौ त म के गरुँ ?
म सिकाऔं भन्छु,
तिमी ज्ञान बाँड्न चाहन्नौ त म के गरुँ ?
म सेतो भन्छु,
तिमी कालो देख्छौ त म के गरुँ ?
म परिवर्तन गरौं भन्छु
तिमी यथास्थितिवादी सोच राख्छौ त म के गरुँ ?
म सुधार गरौं भन्छु,
तिमी कानमा तेल हालेर बस्छौ त म के गरुँ ?
म समानताका कुरा गर्छु,
तिमी विभेदकारी बनिदिन्छौ त म के गरुँ ?
म न्यायका कुरा गर्छु,
तिमी अन्यायमा रमाउँछौ त म के गरुँ ?
म विवेकी बनौं भन्छु,
तिमी विवेक बन्धकमा राख्छौ त म के गरुँ ?
म चाप्लुसी गर्नुहुन्न भन्छु,
तिमी चाकरीबाज बन्छौ त म के गरुँ ?
म भ्रष्ट बन्नुहुन्न भन्छु,
तिमी कुम्ल्याउन चाहन्छौ त म के गरुँ ?
म स्वाभिमानी बनौं भन्छु,
तिमी शरणमा पर्छौ त म के गरुँ ?
म भाइचाराका कुरा गर्छु,
तिमी जातभातका कुरा गर्छौ त म के गरुँ ?
म महिला–पुरुष जात भन्छु,
तिमी उँचनीच जातको कुरीतिमा चल्छौ त म के गरुँ ?
म धनी–गरिव बीचको खाडल पुर्नुपर्छ भन्छु,
तिमी नवसामन्ती सोच राख्छौ त म के गरुँ ?
म नियम पालना गरौं भन्छु,
तिमी उदण्ड बनिदिन्छौ त म के गरुँ ?
म संस्कारी बनौं भन्छु,
तिमी संस्कारविहीन भैदिन्छौ त म के गरुँ ?
म मानव सेवाका कुरा गर्छु,
तिमी मूर्तिपूजा गर्छौ त म के गरुँ ?
म मनमन्दिरमा बसौं भन्छु,
तिमी मन्दिर–चर्च धाउँछौ त म के गरुँ ?
म मानसिकता बदल भन्छु,
तिमी पुरातनवादी तटमस्थ बन्छौ त म के गरुँ ?

अनि यसरी नै,
तिम्रो र मेरो दूरी सुदूर बन्दै गयो
अब तिमी नै भन,
समस्या तिमीमा कि ममा ?

सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी

लेखक परिचय
प्रतिक्रिया
Loading...