
कमरेडहरू भन्थे –
भूतसँग डराउनु हुँदैन
प्रेत जगाउनु हुँदैन
आजकल प्रेतको छाँया देखेर
कमरेडहरूकै खुट्टा कामिरहेको छ ।
कमरेडहरू भन्थे-
विलासी सपना देख्नु हुँदैन
महत्त्वाकाङ्क्षी चाहनाहरू पाल्नु हुँदैन
आँटो पिठो, धुलो मैलोलाई नै आदर्श ठान्थे ।
मान्दथे, भुईँका मान्छेहरूलाई भगवान् ।
कमरेडहरू भन्थे-
सामन्तीको जरो उखालेर फाल्नुपर्छ
वैरीहरूसँग सुरुङ युद्ध गर्नुपर्छ
छलाङ मारेर फड्किने ठुला-ठुला कुरा गर्थे
मलाई अद्वितीय लाग्थ्यो
कमरेडको भाषा, लवज, शैली नै ।
कमरेडहरू –
जनताका गीत गाउँदै गाउँदै
तिलस्मी सपनाहरू बोकेर आँगनमा आए
रुखो-सुको खाएर मझेरीमै सुते
लाग्दथ्यो दुखका दिनहरू सकिए
भेटिए दैलोमै साक्षात् देवताहरू ।
अँध्यारो युग सकिनै लाग्यो भन्दै
उज्यालो रातो घाम देखाउँदै
कमरेडहरू पत्तै नपाई
हाम्रै काँधमा चढेर उक्लिए माथि -माथि
अहिले तिनीहरू
हाम्रै पिठ्युँमा प्रहार गर्दै छन् ।
°°
हेटौंडा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

