हो,
म सपना देख्ने मान्छे हुँ
उड्ने छन् मेरा सपनाका
रङ्गीन चङ्गाहरू
कहिले चञ्चल भएर
कहिले भावुक भएर
कहिले संसार जित्न हिँडेको
मोछाजस्तो भएर
त कहिले पिंजडाबाट
फुत्केर उडेको पक्षीजस्तो भएर
निरन्तर उडिरहने छन्

मेरा सपनाका
रङ्गीन चङ्गाहरू
थाहा छ मलाई
धर्ती मै खस्नु छ एक दिन
तर नीरप्रवाह
निसंकोच
उड्ने छन् सम्भावनाहरू
बोकेर
मेरा सपनाका रङ्गीन चङ्गाहरू
धेरै माथि उड्ने छन्
तर लक्ष्य भने आकाश
छुने छैन
कहिले आत्मविश्वासको
पुच्छर हालेर

कहिले साहसको प्वाँख हालेर
उडिरहने छन् रहरहरू साँचेर
मेरो सपनाका रङ्गीन चङ्गाहरू
बाध्यताको बतासले
छेक्न खोज्दा
मित्रताको हावा चल्दा
वज्रपातको वर्षातले
भिजाउन खोज्दा
धैर्यको चौतारी मिल्ला
थाहा छ मलाई
एक दिन च्यातिनेछु
चुँडिएर जमिनमै
खस्ने छु
खैर केही छैन
कहिले बलियो त
कहिले कमजोर
सम्बन्धका धागोहरूमा
गाँसिएर
फेरि उड्ने छन्
मेरा सपनाका
रङ्गीन चङ्गाहरू
नयाँ नयाँ रहर र
सपनाहरू बोकेर
निरन्तर उड्ने छन्
मेरो सपनाका
रङ्गीन चङ्गाहरू ।