मीनकुमार नवोदित

जुन दिन अँध्यारोको भीरबाट
हामफालेर आत्महत्या ग¥यो घामले
त्यही दिनदेखि उज्यालो हरायो गाउँबाट
बेपत्ता भयो मुस्कान
खुसी खोज्न गएको बतास
फर्किएन कहिल्यै
बरु मृत्युलाई काँधमा बोकेर
फर्कियो आँधी ।

त्यसपछि गाउँको–
हातखुट्टा भाँचियो
एकाएक हरायो आँखाबाट ज्योति
क्षणभरमै बगायो दुःखको पहिरोले
जिन्दगीको भित्तोमा झुण्ड्याएका
अनेकन सपनाहरू ।

यतिबेला अनिकालको कुहिरोले
ढाकेको छ गाउँको अनुहार
अभावको झोला बोकेर
हाट जान्छ र थोरै बेसाहा
लिएर घर फर्किन्छ गाउँ ।

अचेल गाउँमा
पाटीपौवा, चौतारो र धारो बन्दैनन्
नौमती र पञ्चेबाजा बज्दैनन्
रोदी, सोरठी गाइँदैन
मकैभटमास र मोही खाइँदैन
धाननाच र चण्डी नाँचिदैन ।

अपहरणमा परेको छ–
आफ्नै पहिचान
अनि, धर्म र संस्कृति
अझ गाउँबाट गाउँ नै हराएको छ ।

हेदाहेर्दै चौतारी र पँधेराहरू भए बेपत्ता
हिंड्दाहिंड्दै हरायो गन्तव्य
गाउँदागाउँदै बन्द भयो जीवनको गीत
लेख्दालेख्दै मेटिगयो आँसुको कथा ।

डँढेलो लागेपछिको जंगललाई
चराहरूले छाडेर हिंडेझैं
सबैले छाडेर हिंडेपछि
दलिनमा सिहुरिएर लालपुर्जा
सहर पसेको छ गाउँ ।

सहर पसेको वर्ष दिन नबित्दै
बढेको छ एक्कासि प्रेसर र सुगर
के–के न पाइन्छ भनेर
सहर छिरेको गाउँ
यतिबेला बाल्यकालका दौंतरी सम्झँदै
सहरभन्दा अलि पर…..
वृद्धाश्रममा छटपटाइरहेको छ एक्लै !

विराटनगर