हरि कट्टेल नेपाली कविताका फाँटमा निकै सक्रिय, पुराना र स्थापित कवि हुन् । उनी कुशल वक्ता र समीक्षकका रूपमा पनि स्थापित र लोकप्रिय छन् । उनीबाट गजलसङग्रह, मुक्तकङ्ग्रह, माधवआनी खण्डकाव्य र कवितासङग्रह गरेर ९ वटा कृतिहरू नेपाली साहित्यले पाइसकेको छ । हालसालै लोकार्पित पछिल्लो कृति दीप्तदृष्टि उनको नवौँ कृति हो । यो निकै सुन्दर छन्दोबद्घ कविताहरूको सङ्ग्रहका रूपमा आएको छ ।

यो पंक्तिकारले अनावृत आकृतिको संक्षिप्त समीक्षा गर्दै हरि कट्टेलका बारे दुई दशक अगाडि नै लेखेको थियो कि हरि कट्टेल पद्य साहित्यको अभावको खाल्डोलाई पुर्दै पद्य साहित्यको सुक्खा खेत सिञ्चन गर्न शब्दरूपी बुँदहरूलाई समेटेर स्वच्छ, निर्मल, चिसो हिमनदी भएर आएका छन् । कट्टेलद्वारा नेपाली साहित्यले थुप्रै आशा लिएको छ । त्यो आशालाई पूरा गर्न कवि अवश्य सक्षम हुनेछन् । (दर्शन वर्ष अंक १, २३ असोज २०६१) आज कवि कट्टेलले हाम्रो त्यो विश्वासलाई लेखन प्रकाशन र समर्पणमार्फत पूरा गर्दैछन् ।

दीप्तदृष्टि कवि हरि कट्टेलको छन्दोबद्धरूपमा लेखिएको दोस्रो छन्दोबद्ध कवितासङ्ग्रह हो । यसअघि २०६१ सालमा उनको अनावृत आकृति छन्दोबद्ध कवितासङ्ग्रह प्रकाशित भएको थियो । छन्दको निकै खडेरी रहेको समयमा सार्वजनिक भएको त्यो कृति निकै लोकिप्रिय भएको थियो र यो कृतिले नै उनलाई छन्द कवितामा राम्ररी स्थापित पनि गरेको थियो । त्यसभन्दा पछि गजल, मुक्तक ,हाइकु ,खण्डकाव्य आदिमा समेत पोखिँदै आएका कट्टेल यसपटक फेरि अझ परिस्कृत कला र शक्तिशाली भावका छन्द कविताको कृति दीप्तदृष्टि लिएर कविताको संसारमा प्रस्तुत भएका छन् ।  यसभित्र विभिन्न स्वादका १७ शास्त्रीय छन्द प्रयोग गरी लेखिएका ५७ वटा कविताहरू सङ्गृहीत छन् । सङ्ग्रहलाई नेपाल स्रष्टा समाज काडमाडैाँले प्रकाशन गरेको हो ।

व्याकरणलाई नभत्काई छन्द चोटिला र सुन्दर गेयात्मक कविता लेख्नु कवि कट्टेलको कविता लेखनको वैशिष्ट्य हो । यो गुण उनको स्थापित गुण हो र उनको निजत्व पनि हो । उनले त्योबेला लेखेका अनावृत आकृतिदेखि उनले लेखेको ‘माधवआनी’ खण्डकाव्य र हालसालै प्रकाशित यो दीप्तदृष्टि’ कवितासङ्ग्रहले यो तथ्यको पुष्टि गरेका छन् ।

कवि कट्टेल चालीसको दशकतिर नेपाली शास्त्रीय छन्दकविता लगभग सङ्कटमा परिरहेको बिलौनै बिलौना काव्य प्रकाशन गरेर उदाएका कवि हुन् । छन्द कविताका क्षेत्रमा उनको यो योगदानको इतिहासले मूल्याङ्कन गर्ने नै छ । उनका कविताहरू छन्द र लयका दृष्टिले मात्र सुन्दर होइनन् कवितामा विचारको घनत्व पनि अत्यधिक हुन्छ । उसो त उनी दृष्टिकोणमा सौदाबाजी नगरी कविता लेख्ने निडर कवि पनि हुन् । उनले पञ्चायतकालमा द्वन्द्व कालमा, र राजाको शासनकालमा लेखे गाएका कविताहरू पढ्दा नै उनको यो चेतको उचाइ र निडरता स्पस्ट देख्न सकिन्छ ।  कविताहरूले तत्कालीन तन्त्र र विद्रोहलाई हिम्मतका साथ बिम्बित गरेका कारण नै ती कविताहरूले कट्टेललाई समसामयिक धाराका बलिया कविका रूपमा चिनाएका छन् भने यो क्रमबाट गुज्रँदै कवि कट्टेलले यसपटक पनि दीप्तदृष्टि प्रकाशन गरेका छन् । यसमा पनि समसामयिक विषयवस्तुले राम्रै स्थान पाएका छन् । यसभित्रका निकैवटा कविताहरूले वर्तमान समयको राजनीतिक, प्रशाशनिक ,आर्थिक शैक्षिक तथा सांस्कृतिक विकृतिमाथि प्रहार गरेका छन् । कलाका दृष्टिले यसभित्रका कविताहरू झन् बढी कलात्मक र परिस्कृत छन् । कविताहरूले राज्यसत्ता र तिनका भरौटे ठेकेदारहरूलाइै ब्यङ्ग्यमार्फत कुरीकुरी गरिरहेका छन् ।  दीप्तदृष्टि विविध भाव लय र विषयका कविताहरूको पुञ्ज वनेको छ । यसका कविताहरूमा कविले देशभक्ति ,प्रकृति ,व्यथिति र राजनीतिलाई गहिराईसम्म गएर गाएका छन् ।

दीप्तदृष्टि कवितासङ्ग्रहभित्रका धेरै कविताहरूमा मुलुक र माटोप्रति सम्मान र समर्पण छ । कविले कविताहरूमा देशको स्तुतिगान मात्र होइन वीरताको गान पनि गाएका छन् । उनमा देश निर्माण गर्ने पुर्खाहरूप्रति श्रद्धा छ र नेपाली हुनुसँग गर्व छ । कविले मुलुकको अस्मिता रक्षाका निम्ति प्राणआहुति गर्न पनि पछि नपर्ने कुरा कवितामा लेखेका छन् र मुलुकको प्रेमका निम्ति मुलुकबासीहरूलाई आग्रह गरेका छन् । उनलाई नेपालसँग पूरा भरोसा छ । देशमै रहेर उन्नति  प्रगति गर्न सकिने कुरामा उनलाई विश्वास छ । यसभित्रका केही कविताहरू हेरौँ–

म माहुरी म बारुलो म एक श्रेष्ठ सिंह हुँ

म लड्न मर्न देशको सवालमा तयार छु

हुँ राष्ट्रभक्त राष्ट्रको सुसारमा समर्पित

सधैँ अखण्ड राष्ट्र यो छ आँतमा विराजित । (जपेर राष्ट्र बाँभ्दछु)

पस्छन् दुस्मन भित्रसम्म घरको दैलो उघारो रहे

सक्दैनन् तर पस्न शत्रु घरमा साँचो थुनेको भए

बस्ने हैन उँघेर वीरबल हो जाऊँ न जागी सब

लाऊँ बार छिटो र देश जतिको घेरौँ सिमाना अब । (घेरौँ सिमाना अब)

पर्दा मेघसमान तेज गतिमा गर्छौं विपद् सामना

छिर्का छर्न तयार छौँ रगतको यो देशका नाममा  । (हामी वीर)

यो देशमै श्रम गरे श्रममै रमाए

के हुन्न यो मुलुकमा पसिना बगाए । (के हुन्न यो मुलुकमा)

अहिले मुलुकलाई  राजनीतिले विद्रृप बनाएको छ । शासन शैली भ्रष्ट छ, जनता दिक्दार छन् । देशमा बेथिति मौलाएको छ । देश लुछिखाने भाँडो बनेको छ । यस्तो अवस्थालाई कविले व्यंग्यमार्फत यसरी चित्रित गरेका छन्–

म जान्छु देशदौडाहा खान्छु भ्रमणको सुको

देशको ढुकुटीमाथि सम्झ लाग्यो खरी जुको

सजिलै पेटमा पच्छन् ढुङ्गा नाली कडा ढल

अलकत्रा कति खाएँ रक्षे ! मा चल मा चलः !

ढुकुटीतिर छन् जसका नजर

छल गर्दछ जो पथभ्रष्ट नर

तर हुन्छ उही  मृगआसनमा

गणको डर खै भन शासनमा ।

छेपारा फेर्नमा रङ्ग  हुन्छन् रे अति खप्पिस

तीभन्दा सजिलै रङ्ग फेर्न सक्दछ मानिस ।

देशमा आउला भन्थेँ सुनौलो राम शासन

शकुनि फ्याँक्दछन् पासा राज गर्छन् दुशासन ।

कविले देशको वर्तमान अवस्थाको चित्रण मात्र गरेका छैनन् यस्तो अव्यवस्था  नसहने उद्घोष पनि कवितामार्फत यसरी गरेका छन्–

बाँधेर कुट्ला जसले बिरालो

चिथोर्छ झम्टिन्छ सहन्न जालो

हल्किन्छ अन्याय र न्याय रुन्छ

यस्तो व्यवस्था कसले सहन्छ ?

कवि देशमा गण्तन्त्रको वहालीका निम्ति कलममार्फत लडेका देखिन्छन् तर गणतन्त्र मर्मानुसार नचलेकोमा गुनासो गर्छन् र भन्छन् । दलहरूले नेतृत्वले शहीदका सपनामाथि बलात्कार गरेकोमा चिन्तित छन् । उनी गणतन्त्र र शहीदलाई यसरी सम्झन्छन्–

आस्था मन्त्र थियो विचार तिनको बत्ती बनेको थियो

त्यस्तो दीप्तप्रकाश आज कसरी बन्दैछ फिक्का दियो ।

न त सुन्छ कुरा न त मान्छ डर

न त कानूनको छ कुनै असर

जन जो निमुखो तर जेल गयो

अनि यो कसरी गणतन्त्र भयो ?

विषयवस्तुहरू हेर्दा यो कविता सङ्ग्रहले नछोएको सायदै कुनै क्षेत्र होला । मानव मानवीयता, धर्म संस्कार संस्कृति, जीवन मरण, उत्साह उत्सर्ग, प्रकृति, विकृति विसंगति, नेपाली युवायुवतीहरूको बाध्यता विवशता, सामाजिक राजनीतिक आर्थिक र औधोगिक समस्या, सामाजिक अन्याय अत्याचार, भ्रष्टाचार, दूराचार, बलात्कार, स्वाभिमान, अभिमानदेखि राग अनुरागसम्म कविताहरूले बोलेका छन् । यसभित्र कवितामा कविको प्रगतिशीलता र विद्रोह चेत प्रशस्त देखिन्छ । पुरातन र परम्पराका नाममा हाम्रो समाजले भोग्नु परेका पीडाहरूमा कविले छोरी आवाजजस्ता कवितामार्फत आक्रोश पोखेका छन् भने हाम्रा सुन्दर मौलिकता र संस्कृति हराउँदै गएकोमा त्यो बस्ती छ कहाँजस्ता कवितामार्फत  चिन्ता गर्दै आफ्ना मौलिक संस्कृतिहरूको जगेर्नाको आह्वान पनि गरेका छन् । मान्छे कवितामार्फत मानवीय प्रवृतिलाई मःमः भन्ने गरी देखाएका छन् ।

कविताहरूमा हाम्रा दशैँ, तिहार, इद, चण्डी र लेसारहरू छन् । मुर्चुङ्गा, विनायो र बाँसुरीहरू छन् । मानवीय असमानताका बिम्बहरू छन् । धेरै ठाउँमा कविताहरूमा भोका र नाङ्गाहरू बिम्बित छन् । कसरी सकेका खान निचोरी देशको रस भन्दै कविले कवितामा देश चुस्नेहरूलाई झापड हानेका छन् । नारी अस्मिता र माटोको अस्मिता दुखेका प्रसङ्गहरू, हिंसाका दृष्यहरू कवितामा यत्रतत्र छन् । कविले कविताको आफ्नो  यात्रा र जिन्दगीको यात्रा पनि निरन्तर रहेको कवितामार्फत  उद्घोष गरेका छन् । कविता कसका लागि भन्ने सन्दर्भमा पनि कविका कविता बोलेका छन् ।

उनको आमा, कविता,  युगदृष्टि छन्दगान जस्ता शीर्षकका र अन्य धेरै कविताहरू पढ्दा पाठकले कवितामा चमत्कारिकताको रसपान पनि गर्छ । कविता पढ्दा पाठकले कविलाई पनि पढ्न सक्छ । कृति पढेर  उनको विचार र उनको सगरमागाजस्तो शिर र स्वाभिमानको उचाई सजिलै नाप्न सकिन्छ । उनी एउटा कवितामा लेख्छन्–

नझुक्ने शिरको मान्छे घमण्डी यदि हो भने

म आजकै मितिदेखि घमण्डी मनुवा बनेँ ।

लयका दृष्टिले उनका कविताहरू जोडजबर्जस्ती लेखिएका छैनन् । शब्द र वाक्यविन्यास अत्यन्त सरल र सहज छ । कविताहरू सबै खालका पाठकहरूले बुझ्ने  शैलीका र  सलल्ल बगेका छन्  । जस्तोसुकै पाठक होस् पाठकले यो कृति पढ्दा एउटा न एउटा कविताले उसको दिल छोएकै हुन्छ  । कतिपय कविताहरूका श्लोकहरू  त सूक्तिजस्ता लाग्छन् । दृष्टान्तहरू पनि सुन्दर लाग्छन् । बिडम्वना, युगदृष्टि लगायतका केही  कविताभित्र त  एउटै कविताभित्र सारा कुरा अँटेको अुनुभूति गर्न सकिन्छ । एउटाभित्र अनेकन विषयवस्तुहरू अट्नुले कविमा रहेको फराकिलो  विचार, चिन्तन र विद्वताको दायरा  पनि देखाउँछ । कविताहरू विषयवस्तुका दृष्टिले पनि विविध छन् । यस सङ्ग्रहको भूमिकामा प्राडा. देवी नेपालले लेखेझैँ  विषयवस्तुका दृष्टिले यसमा विश्व अँटाएको छ ।

देश विदेश, मानवीय पीडा र प्रवृत्ति, राजनीति, प्रेम, प्रकृति, दर्शन, साहित्य, समाज, द्वन्द्व,  विचार; के छोएका छैनन् र कविताहरूले ? उमेरका हिसाबले बाल, वयस्क,  वृद्ध; पेशाका हिसाबले कृषक, सरकारी जागिरे, शिक्षक प्राध्यापक सबैलाई कविताहरूले छोएका छन् । वैदेशिक रोजगारीका कारुणिक दृष्यहरू पनि कवितामा छन् । राजनीतिभित्रको बेथिति विकृतिलाई कविताहरूले नङ्ग्याइदिएका छन् । कविताहरूले  राजनीतिक अकर्मण्यताको पर्दाफास मात्र गरेका छैनन्; कतिपय कविताहरूले त नेता र बडाहाकिम पल्टने हाकिमहरूलाई सिस्नोपानी नै लगाएका छन् । भ्रष्टाचारमा चुर्लुम्म डुबेका र दलका आडमा घुम्ने कुर्सीमा बसेका कर्मचारी वर्गलाई  कविताले मर्नेगरी व्यङ्ग्यको झटारो हानेका छन् ।

जे होस्, हरि कट्टेलका दीप्तदृष्टिका कविताहरूमा कविको विचार र भावको गहिराइ मात्र होइन, कला र शिल्प पनि त्यतिकै बेजोड छ । कतै कतै त कालिगढले चित्र कुँदे जस्तो आभास हुन्छ कवितामा । खै कसरी हो, फूलजस्तै गरी कविता फूले जस्तो लाग्छ । त्यति हँदा हँदै पनि ठूलो तलाउमा भावका घुयँत्रो हानेर मस्तिष्क झनन्न पार्दै  अघि बढ्छन्, कतिपय कविताका पंक्तिहरू  । केही कविताहरू हेरौँ त–

उकालो छ निकै बाटो मैले पुग्नु छ मास्तिर

पछाडि सर्पका ताँती डढेलो छ अघिल्तिर ।

( हिँड्दैछु म निरन्तर )

जसरी फुल्दछन् लाली फाँट बस्ती गरा गरा

त्यसरी फुल्दछिन् नारी हँसाएर वसुन्धरा (छोरी आवाज)

थाक्दैनन् कहिल्यै योद्वा जित हुन्छ र पो त्यहाँ

भकुण्डो जति दाविन्छ पुग्छ उफ्री कहाँ कहाँ (विडम्वना)

छेपारो कहिले बनाउन सकोस् ढुङ्गा मिलाई घर

जस्तै बात गरुन गफास्टकहरू बातै रहन्छन् तर (बाढी)

छाया लाग्दछ जून घाम सबमा छेपिन्छ यो जग्जगी

फूलैफूल कहाँ रहन्छ र सधैँ  वैलिन्छ यो जिन्दगी । (वैलिन्छ यो जिन्दगी)

पक्कै विचार र विषयले मात्र होइन कविले छन्द कवितामा गरेको बिम्ब प्रयोग र बिम्बहरूको छनोटले पनि कृतिलाई उत्कृष्ट बनाएको छ । दीप्तदृष्टिमा कतिपय कविताका श्लोकहरू हिमाली छहरा बगेझैँ हामीलाई छुँदै र व्यूँझाउँदै बग्छन्  । विद्वान समालोचकहरूले नियालेर यसका खोटहरू नियाल्न त सक्लान् । तर गाँठी कुरो यति सुन्दर र श्रेष्ठ लाग्ने कविता पढेर बरु पाठक अघाउला तर लेखेर स्वयम् कवि अघाएका छैनन । किनकि, उनी स्वयम्ले कवितामै भनेका छन्–

सधैँ बाँचिरहोस् यस्तो कविता लेख्नु के गरी,

भनेर छट्पटी मान्छ लेखनी यो सधैँभरि । (कविता पृष्ठ११७)

उनले कविताहरूमा सन्तुष्टि मानेका छैनन् । एउटा कवितामा स्वयम् हरि कट्टेलका आँखाले देखेको अपूर्णता अर्को कवितामा पूरा गर्ने दृढता बोकेका छन् कविले । अब उनै कविलाई यी र यस्ता कवितामा धीत नमरी रहेको देखेपछि मैले कृतिउपर आलोचनाका विन्दुहरू जबर्जस्त  नियाल्नुको के पो अर्थ रह्यो र !  तैपनि पढ्दा लाग्यो, यो कविता पनि उनैको  त्यो कविताजस्तै भएको भए, यो श्लोक पनि त्यो श्लोक जस्तै भइदिएको भए, यो हरफ पनि त्यो हरफझैँ भइदिएको भए ! विश्वास छ, कविले उनका पछिल्ला कृतिहरू अझै अब्बल बनाउनेछन् र हामीलाई छन्दकविताको रसपानको अझै उत्कर्ष महसूस गराउनेछन् ।