हृदयघात भएर ईश्वर मरेको हल्ला फैलियो
एकाबिहानै शहरभरि
आँधीपछिको डँढेलोझैं
एकैछिनमा विश्वभर फैलियो
ईश्वर मरेको खबर !
राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाले
हेडलाइन बनाए
ईश्वर मरेको खबरले
आश्चर्यचकित भए मान्छेहरू
ईश्वरसित संगत गरेकाहरूले
प्रगाढ सम्बन्ध भएकाहरूले
नजिकबाट चिन्ने/बुझ्नेहरूले
हरेक दिन उठबस गर्नेहरूले
साँझ भट्टीपसलमा भेट हुनेहरूले
भन्न थाले–
भक्तहरूसित घुस खान्थ्यो
बौलाएर सडकमा नाङ्गै हिंड्थ्यो
हल्ला गरेर रातभर सुत्न दिँदैनथ्यो
मातेर साह्रै छाडा बोल्थ्यो
एकअर्कालाई खुब झगडा लगाउँथ्यो
कात्रोमा पनि कमिसन खान्थ्यो
मरेछ ठीकै भयो
हेर्दाहेर्दै
रामायण बोकेर मन्दिरबाट
बाइबल बोकेर चर्चबाट
त्रिपिटक बोकेर गुम्बाबाट
कुरान बोकेर मस्जिदबाट
हुलका हुल सडकमा निस्के मान्छेहरू
रामायण, बाइबल, कुरान र त्रिपिटकमा
आगो सल्काएर
ईश्वरको लासमाथि राखिदिए
क्षणभरमै खरानी भयो ईश्वर
रामायण, बाइबल, कुरान र त्रिपिटक
बोकेर आएकाहरूले गरे अंकमाल
अनि भने ठूलो स्वरमा सबैले–
आजैबाट मुक्त भइयो ईश्वरको दासत्वबाट !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 










