१. मृत्युको दिन

न त्यो आँगन छेउ
तिमीले पानी खुवाएको फूल रुनेछ
न त्यो करेसाबारीमा तिमीले हुर्काएको
आरुको पात झर्नेछ

न तिमीले हदै माया गरेको
भित्ताको उनको तस्बिर हाँस्न नै छाड्ने छ

सायद
मरेको दिन
तिम्रै लास पनि हाँसिरहेको हुनेछ
आँगनको डिलमा

फरक यत्ति हो
तिमी हाँसोमै हाँसिरहेका हुनेछौँ
तिनीहरू रोएझैं हाँसिरहेका हुनेछन् ।

२. पुस्तक र प्रेमिका

पुस्तक पढ्नु
घर बिर्सनु होइन

पुस्तकालय छिर्नु
सम्बन्धको चुकुल लगाउनु होइन
इन्द्रराज्य छिर्नु हो
आकाशतिर उठ्नु हो

ओ प्रेमिकाहरू
नतर्स
पुस्तक पढ्नु
मैले तिमीलाई प्रेम गर्नुजस्तै हो

पुस्तक बोक्नु
बाकस उज्यालो
उपहार भिर्नुजस्तै हो ।

जगन्नाथ पौडेल
भर्जिनिया, अमेरिका