साँझ

गाउँ उकालो लाग्ने बेलामा म ओरालो झरेँ,

 

आज

अभुतपूर्व संयोग रहेछ

कोही लाश लिएर ओर्लिएनछ,

 

मैले खोला किनारका दाउरा र झिँजा बटुलेँ,

यो खुशी जस्तो बटुल्नै नसकिने दुर्लभ रहेनछ ।

 

घाटको खरानी बढारेँ,

भएन बेदना पन्छाउनु जस्तो सकस ।

 

चाङ् लगाए चिताको,

घर ठड्याउनु भन्दा कति सजिलो हो कति !

 

यो घाट, बजार जत्ति महङ्गो रहेनछ,

 

सुतेँ चितामा,

बिर्सिदिएँ बिछ्यौना,

दाउराको बाहुपासलाई अंगाले,

 

बिस्तारै रोकेँ श्वास,

श्वास फेर्नु भन्दा कता शान्त कता,

धड्कनको हल्ला भन्दा,

मथिङ्गलको कोलाहल भन्दा,

कति शान्त कति ।

 

कोही त आउला नि बिहानसम्म

आगो सल्काउने कोही,

तयार थिए धेरै

जिउँदैमा त जलाउन ।

 

यो मृत्यु जीवन जस्तो जटिल रहेनछ,

 

हेर गाउँले हो, म मरेको छु ।

हेर् सरकार, म मरेको छु ।।

~~~~~~~~

शंखादेवी