ए जिन्दगी !
म तँसित कहिल्यै
कतै भाग्न चाहेको छैन
तँसित मलाई बचाइको साँचो माया छ
दुखाइको अलौकिक सङ्गीत मेरो हृदयमा छ
म मर्मभोगी
म भुक्तभोगी तेरो तालतालमा
मेरो आजीवन अनुराग छ
हुनसके मलाई यति धेरै चोटहरू दे कि
अर्को चोटका निम्ति मुटुमा कुनै ठाउँ नै नरहोस् ।

कुनै फूलको
थुँगामाथिको जीवित पुतलीजस्तो होइन
भमराजस्तो पनि होइन
बरु एउटा फ्रेममा कुनै चित्रकारले सजाएको चित्रजस्तो
म निश्चल बसूँ
कोही आएर जसरी मनपर्छ मलाई उसरी पढोस्
म सधैँ फ्रेममा नै बाँचिरहूँ
चाहे कसैले मोलिदियोस्
चाहे कसैले बेचिदियोस्

जहाँ मन चरक्क दुख्छ—
ए चरक्क दुखाइ !
जहाँबाट आँसु सलल बग्छ—
ए सलल बगाइ !
मलाई यति धेरै चरक्कहरू दे कि
फेरि चरक्क दुखाइको दुखाइ मलाई थाहै नहोस्
मलाई यति धेरै आँसु बगाईहरू दे कि
फेरि रुनुका निम्ति मसित एक बूँद आँसु नहोस्

ए भावनाको उर्भरता !
ए कविताको कवि !
मेरो मुटु टुक्राटुक्रा बनाइदे,
होइन भने ढुङ्गाभन्दा पनि कडा बनाइदे कि
म भावनामा तँलाई छुन नसकूँ
अब फेरि कहिल्यै एक शब्द पनि लेख्न नसकूँ ।