स्वर्ग चाहने
तर
मर्न नचाहनेहरूको
मकर मेलाका तीर्थयात्रीहरुको झैँ भिडमा
कुम्भकर्ण र कञ्चनजंघाको फेदीमा
निरन्तरको हिमपातले
बाटो भुलिएको यात्रीझैँ
अल्मलिइरहँदा
कुनै चेतनशील प्राणीले
गन्तव्य पहिल्याउन मद्दत गर्ला
वा धागो चुँडिएर
खुल्ला आकाशमा
स्वतन्त्र उडिरहेको चङ्गाझैँ
भौँतारिरहुँला

वास्तविकताको धरातलमा गरिने
समीक्षा र आलोचना भन्दा
आदर्शका महलबाट गरिने
खोक्रो प्रशंसाले
जिन्दगीको यात्रामा झुलाइरहन्छ
नियन्त्रण गुमाएको जहाज झैँ
भौँतारिरहँदा
कुनै सहयात्रीले
गन्तव्यको संकेत गर्लान्
वा गन्तव्य भुलाएर
अल्मल्याउलान् खै

खहरेको ठूलो दहभित्र
कुर बनाएर बसेको माछीलाई
असार मासमा आएको भेलले
जीवन र मरणको संघारमा पुर्‍याउँदा
असल सारथीको पर्खाइमा
कुनै अजङ्गको सतिशाल
बाढीले ल्याएर
माछीको जीवन जोगाउला
वा
दुई छाक खान नपाएर
काँधमा थकौली बोकेर
खोलातर्फ लागेका साईँला काकाको
थकौलीले साहार दिई
माछीको जीवनको अन्त्य हुँदै गर्दा
तीन दिनदेखि भोकै बसेका
मसिना नानीहरू र साइँली काकीको
मुहारमा मुस्कान ल्याउँदै
माछीको जीवनको अन्त्य हुने हो
टुङ्गो नहुँदा
‘रुने नानीले धेरै खान्छ’
यही उखानको चरितार्थ
पुरा गर्दै जीवनको अन्त्य होला…

न्यायका लागि पहल गरिएला
आफ्ना पहुँचका न्यायालयहरूले
वास्तविक जीवनमा झैँ
सारा परिवारको मुहारमा
खुशी आउँछ भने
“तपाईँको त्याग अपरिहार्य छ”
यही वाक्यांशले खोक्रो प्रशंसा गर्लान्
जीवनका लागि अनुनय विनयको
मौका नपाउला
संसार नियाल्ने अभिलाषाको
लामो चाङ सुनाउने
मौकाका लागि
बारम्बार समय मागिरहँदा
ध्वनि नियन्त्रण गुमेको
पुरानो रेडियो झैँ
ठूलो ध्वनिमा एउटै वाक्यांश दोहोरिरहला
त्याग अपरिहार्य छ…
त्याग अपरिहार्य छ…
त्याग अपरिहार्य छ…
त्याग अपरिहार्य छ…
त्याग अपरिहार्य छ…