मलाई प्रेमको वाणले निशाना बनाएकी मान्छे,
नाइल नदी झैँ निरन्तर सम्झना,
मरियाना ट्रेन्च भन्दा गहिरो माया ।
निःस्वार्थ बहिरहेको शीतल हावामा कुनै अपराधीको खोजीमा निस्किएको राष्ट्र सेवक सिपाही झैँ मेरो मानसपटलमा अप्रत्याशित रुपमा आइपुग्ने त्यो तिम्रो सुन्दर मुहार, कर्णप्रिय बोली, मनमोहक मुस्कान, मृगनयनी आँखा, नागबेली जस्तो केश, स्याउ झैँ चम्किला गाला, अनार दाना झैँ मिलेको दन्त लहर, शुद्द सुन झैँ प्रदिप्त शरीर अनि कोइलीको जस्तो स्वरको झोक्काहरु आइनपुगे सम्म म होसमै रहेको सूचना तिम्रो कोमल हृदयसम्म पुर्याउन यो सेतो पन्नालाई काला अक्षरहरुले रङ्ग्याउने कोशिसमा छु, यी अक्षरहरु स्वर्णपत्रमा सुनौला अक्षरहरुले लिपिबद्ध गरी हृदयको भित्री कुनामा राखिएको सुन्दर उपहारको छविप्रति रहेको समेत विश्वास दिलाउन चाहन्छु । त्यो शीतल हावामा पुष्पगुच्छामा भमरा झैँ लुकामारी खेल्दै मसामु आइपुगेका ती तिम्रा यादहरुले मेरो हृदयलाई बताएसम्म तिमी पनि कुशल, मङ्गल र सकुशल भएको विश्वास लिएको छु, ती तिम्रा यादहरु तिमी झैँ सत्यवादी रहेकोमा मलाई कुनै पनि शङ्का छैन । वर्तमान सूचनाप्रविधिको युगमा अनेकौँ सञ्चारका माध्यमहरु हुँदाहुँदै पनि प्राचीन ढुङ्गेयुगमा झैँ तिम्रो नाममा प्रेमपत्र आइपुग्दा आश्चार्य लागेको होला तर, हजारौँ मिनेटको फोन सम्पर्कमा, सयौँ वटा म्यासेजहरुमा समेत एउटा प्रेमपत्रमा व्यक्त गर्न सकिने भावनाहरु व्यक्त गर्न नसकेकाले यो प्रेमपत्र लेख्न वाध्य भएको जानकारी गराउन चाहान्छु ।
प्राण प्यारी,
वरिष्ट लेखक युग पाठक लेख्नुहुन्छ “प्रेमपत्र गुम्दा शब्दभण्डार गुम्छ, भावना र यथार्थको बनोटबाट जन्मिने कविता गुम्छन् । धेरैभन्दा धेरै मान्छेले आफ्ना भावना व्यक्त गर्ने कला गुमाएर मैदानमा उत्रियो भने समाजले के-के गुमाउला ?” हो यसरी नै गुम्ने क्रममा म सानो छँदा दिनहुँ टोल टोल घुमिरहने हुलाकी दाइको अस्तित्व गुमिसक्यो, तर कुनै सञ्चार माध्यमले पनि ती दाइको “अस्तित्व हराएको सूचना” प्रकाशित गरेको सुनिएन । यो प्रेमपत्रले ती दाइको अस्तित्वसहित हाम्रो सम्बन्ध समेत जिवन्त राख्नेछ । अघिल्लो पुस्ताले अवलम्बन गरेको सञ्चार माध्यमको प्रयोग, शब्दको गहिराइ र असङ्ख्य अव्यक्त भवनाहरुलाई समेत पुनर्जीवन प्रदान गर्ने कुरा समेत यसै प्रेमपत्र मार्फत जानकारी गराउन चाहन्छु । मैले यत्रतत्र सुन्ने गरेको छु, प्रविधिको युगमा कसलाई प्रेमपत्र लेख्ने फुर्सद होला र ? म यो स्पष्ट पार्न चाहन्छु कि प्रेमपत्र बेरोजगारीको पराकाष्टा, समय व्यतित गर्न लेखिने कपोकल्पित लेख भने पटक्कै पनि होइन । प्रेमपत्र सम्बन्धप्रतिको लगाव र यथार्थता समेत उजागर गर्ने जीवन्त दस्तावेज समेत हो । “प्रेमपत्र” प्रतिनिधि पात्र मात्र हो, आधुनिकताका नाममा हाम्रा थुप्रै मौलिक संस्कृतिहरु इतिहासका पानामा सीमित बन्न पुगेका छन् । जसमध्ये यो प्रेमपत्रले “प्रेमपत्र”लाई जीवन्त तुल्याउने विश्वास लिएको छु ।
प्राण प्यारी,
तिम्रो सुन्दरताको बयान त हजार जिब्रो भएको शेषनागले समेत गर्न सक्दैन, जाबो म मानव मैले गरेको तिम्रो सुन्दरताको बयान त हात्तीको मुखमा जिरा नै सावित होला अन्यथा बुझ्नेछैनौँ भन्ने कुरामा विश्वस्त छु । तिम्रो मुहारको चमकले मलाई गोधुली साँझको हिमालयको टलकलाई बिर्साएको छ, तिम्रो सुमधुर बोलीले हजारौँ बाध्यवादनको सङ्गित भुलाएको छ । तिम्रा लजालु नयनको हेराइले मेरा मनमस्तिष्कमा हलचल पैदा गरेको छ । तिम्रो मधुर मुस्कानले विश्वका आश्चर्यलाई फिक्का बनाएको छ । तिम्रो शारीरिक सुगठनको तादाम्यताले विश्व प्रसिद्ध कलाकारको बजोड मेहनतले कोरिएको प्रसिद्ध तस्वीरलाई चुनौती प्रदान गरेको छ । शुद्ध सुन झैँ प्रदिप्त चम्किलो अनुहारको चमकले सन्ध्याकालमा पृथ्वी प्रवेश गरेका चाँदनीहरुलाई चुनौती दिएको छ ।
प्रिय,
तिम्रो बत्तिस लक्षण र त्यसको गुणगान छोटो समयमा पर्याप्त छैन प्रिया अर्को प्रेम पत्रमा लेख्ने नै छु अहिलेलाई बिदा माग्छु ।
तिम्रो नशालु नजरको वाणले घाइते प्रेमी



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ फाल्गुन २०८२, बिहीबार 










