
प्रेमको परिभाषा र विश्लेषणका सन्दर्भमा थुप्रै विद्वानहरूले कलम, मसी र मेहनत खर्च गरेर लामा लामा रसिक लेख, रचना, थुप्रै ग्रन्थ तथा उपमाहरूको सिर्जना गरिसकेका छन् । यसका सन्दर्भमा प्रेमको परिभाषा शब्दमा उतार्ने दुस्साहस मबाट हुन सकेन । यति मात्र भनौँ, प्रेम परिभाषित होइन, अनुभूत हुन्छ । प्रेममा उपमाको सिर्जना र तुलना होइन कमजोरीहरूको आत्मसात् हुन्छ । प्रेममा कमजोरीको खोजी होइन परिपक्वताको विस्तार हुनुपर्छ ।
मानिसको जीवनमा परिवर्तनका लागि अपरिहार्य वस्तु प्रेम हो । जन्मसँगै जीवनलाई बाहिरी वातावरणसँग अन्तर्घुलनका लागि आमासँगको प्रेम र ममता अपरिहार्य छ । जिन्दगीलाई विकासतर्फ डोर्याउनका लागि बाबासँगको कर्तव्यसहितको प्रेम जरुरत छ । बाल्यावस्थालाई अविस्मरणीय र सान्दर्भिक बनाउनका लागि दाजु, दिदी तथा सहपाठीहरूको प्रेम चाहिन्छ । सुखद पलहरूको अनुभव साटासाट गर्नका लागि तथा जीवनको कष्टकर अवस्थालाई सहजताका साथ पार गर्न साथीसहोदरहरूको प्रेम मानव जीवनमा अपरिहार्य छ । प्रेम मानिसको जन्मसँगै अति आवश्यक अदृश्य वस्तुको रूपमा प्रकट भएको पाइन्छ । परिपक्व जीवनमा आउने उतारचढाव सुखदुःख, आवेगसंवेगको आदानप्रदानका लागि एक आत्मीय सहपाठीको प्रेमको अपरिहार्यता रहने कुरासमेत विद्वानहरूले बताएका छन् ।
प्रेम एक अनुभूति हो जसलाई न कसैले स्वेच्छाले सिर्जना गर्न सक्छ न त विनाश नै । व्यक्ति, समय र परिस्थिति अनुसार सिर्जना भएको अनुभूति प्रेम हो । समय, उमेर, परिस्थितिअनुसार सिर्जना हुने प्रेमिल अनुभूति फरक होला तर स्वेच्छाले सिर्जना भने हुन सक्दैन । आमा र बच्चाबिचको प्रेमानुभूति भिन्न हुन्छ, साथी-साथीबिच हुने प्रेम भिन्न किसिमको हुन्छ र तौरतरिका पनि फरक हुन्छन् । प्रेम व्यक्त गर्ने शैली फरक हुन्छ । यस्ता अनेक विविधता हुन्छ प्रेममा । वास्तविक प्रेममा न त कसैको निहित स्वार्थ रहन्छ न त समय सीमा नै । उदाहरणको रूपमा हेरौँ आमाको बच्चाप्रतिको प्रेम । न त थप सिर्जना गर्न सकिन्छ न त विनाश नै । त्यसैले प्रेम स्वार्थ पूर्तिको साधन वा आकर्षणको उपज नभई स्वच्छ भावनामा विकसित भएको एक सर्वोकृष्ट अनुभूति हो जसलाई भौतिकतासँग दाँजेर विश्लेषण गर्नु सङ्कुचित मानसिकताको उपज हो ।
एकपटक सोच्नुहोस् त, तपाईँले देख्दै, गर्दै र बुझ्दै आउनुभएको प्रेम वास्तवमै प्रेम हो त ?
प्रेमको अभिव्यक्ति भावुक हुन्छ । तपाईँ कुनै अर्को व्यक्तिसँग आकर्षित हुनुभयो भने त्यसको अनुभव गर्न सक्नुहुन्छ । प्रेम दुई व्यक्तिको इच्छाबाट अनुभूत हुन्छ । प्रेमको महसुस गर्नका लागि तपाईँलाई औपचारिक सम्बन्धको आवश्यकता हुँदैन । कोही एकदमै अप्ठ्यारो हालतमा गुज्रिरहेको हुन्छ, त्यसबेला तपाईँको मस्तिष्कमा प्रेमिल भावनाको विकास हुन्छ, न त तपाईँले त्यस भावनालाई रोक्न सक्नुहुन्छ न त थप गर्न नै । अचानक तपाईँ कुनै अपरिचित व्यक्तिसँग प्रेममा पर्नुहुन्छ । यो एक प्रकारको मानव व्यवहार हो । यो प्रेमलाई सहानुभूतिको रूपमा पनि बुझ्ने गरेको पाइन्छ । अपरिचित व्यक्तिका लागि चिन्तित हुनु, सहयोगको भावना पैदा हुनु, सफलताको लागि सहयोग गर्न तत्पर हुनु नै वास्तवमा प्रेम हो । यसलाई स्वार्थ, फाइदा र भौतिकताले कुनै प्रभाव पार्न सक्दैन । तपाईँ कसैसँग प्रेम गर्नुहुन्छ भने त्यसमा तपाईँको कुनै स्वार्थ र अपेक्षा हुँदैन । यो एक किसिमको आत्मीक प्रस्तुति पनि हो । किनभने यसको अनुभूति पनि एकदमै भावनात्मक हुन्छ । यो पनि अनिवार्य छैन कि तपाईँले प्रेम गरेको व्यक्ति तपाईँसँगै हुन्छ र उसले सधैँ साथ दिन्छ । तर, तपाईँसँग टाढा हुँदैमा उसले तपाईँको साथ छोड्दैमा वा तपाईँलाई घृणाको दृष्टिले हेर्दैमा तपाईँको प्रेमको अन्त्य हुँदैन । यदि यस्तो अवस्थामा अन्त्य भएमा त्यसलाई प्रेम भन्न सकिँदैन । यो एक स्वार्थकेन्द्रित सम्बन्ध मात्र हो ।
न जात, न स्थिति, न स्नायु, न रगत, न परिश्रम, न पसिना, चिन्दैन प्रेमले कोहीकसैलाई । सायद यही अर्थमा भनिन्छ, प्रेम अन्धो हुन्छ केही पनि देख्दैन । अँध्यारो उज्यालो केही जान्दैन । भनिन्छ, प्रेम भनेको युद्धजस्तै हो । यसमा कतै केही रोकटोक छैन, सबै जायज हुन्छ प्रेम र युद्धमा । तर बुझ्नु, प्रेमका व्याख्या र अपव्याख्या गर्नेहरूले भनेजस्तो खेल होइन प्रेम जसले हार–जितको चरित्रलाई उजागर गरोस् । प्रेम त प्रेम हो, जीवनका सम्पूर्ण क्रियाकलापभन्दा फरक, तर जीवनसँगै जोडिएको एउटा जटिल प्रक्रिया हो । प्रेमलाई हेर्ने दृष्टिकोण आ–आफ्नै प्रकारका छन् । प्रेम गर्ने ढङ्ग आ–आफ्नै किसिमका छन् । त्यसो त गरिने क्रियाकलाप नै कहाँ हो र प्रेम ? यो त एक स्वतःस्फूर्त आफैँ हुने प्रक्रिया हो । आफसे आफ चल्छ प्रेम, प्रकृतिप्रदत्त त्यो विशाल नदीझैँ । न त रोकेर कसैले रोक्न सक्छ न त कसैले छेकेर नै छेक्न सक्छ ।
संसारमा प्रेम कसले गरेन ? प्रेमको नाममा व्यभिचारको जन्म कहाँ भएन ? इतिहासको गर्भदेखि अझैसम्म प्रेमको नाममा अनेक कुकर्म हुँदै आएका छन् । त्यसको सिलसिला कहिले रोकियो र ? प्रेमको सार्थकतामाथि प्रहार गर्न, वास्तविकताको हत्या गर्न धेरैले खोजेका छन् । तर कसले पायो सफलता ? इतिहास साक्षी छ, प्रेम कहिल्यै मरेन । र, मर्दैन पनि । अनन्तः अजर छ, अमर बनेर सतिसाल झैँ ठडिएको छ प्रेम मानसपटलमा । कहीँ कतै प्रेमको निश्चलतामाथि प्रहार गर्ने कोसिस भएको छ तर स्वार्थकेन्द्रित गतिविधिहरूलाई, भौतिकतामा रुमलिएका सम्बन्धहरूलाई, क्षणिकताको आवेशमा सकिएका सम्बन्धहरूलाई, कमीकमजोरीको खोजीमा तल्लीन व्यवहारहरूलाई, संवेदनामाथि हुने प्रहारहरूलाई प्रेमको संज्ञा दिनु सङ्कुचित मानसिकताको उपज हो ।
प्रेम, विवाह र भक्तिका सम्बन्धमा विनयकुमार शर्मा नेपाल लेख्नुहुन्छः
“प्रेम आगो हो र प्रेम पानी पनि हो । प्रेम डर, भय र सन्त्रास पनि हो । प्रेम लाज, सरमको पर्दा हो । प्रेम भाव, सोच र विचार हो । प्रेम अहङ्कार, घमन्ड र गर्व हो । प्रेम धर्म, समाज र बन्धन हो । प्रेम आस्था, विश्वास र समर्पण हो । प्रेम नै धर्ती र प्रेम नै आकाश पनि हो । प्रेम प्रकाश हो भने प्रेम अन्धकार पनि हो । प्रेम ईश्वरीय भाव हो भने राक्षसीपन पनि हो किनकि कुनै पनि वस्तु वा भाव विपरीतताको अस्तित्वविना अस्तित्वमा रहनै सक्दैन । प्रेम उत्सव, खुसी र आनन्द हो । प्रेम श्रद्धा, भक्ति र स्वयं माया पनि हो । प्रेम आकार पनि हो, प्रकार पनि हो र निराकार पनि हो । प्रेम मनको संवेग, आवेग र उद्वेग पनि हो । प्रेम सत्, रज र तम हो भने इलोक्ट्रन, प्रोटोन र न्युटन पनि हो । विवाह मात्र एक एउटा पद्धति हो, प्रणाली हो । समाजको अस्तव्यस्तता, भद्रगोलपन आदिलाई व्यवस्थित गर्न बनाइएको एउटा नियम हो, चलन हो, प्रचलन, संस्कार र परम्परा मात्र हो । अभिभावकले खोजेर, पद्धतिभित्र हुलिदिएर, जबरजस्ती प्रेमको व्यवहार गर्नै पर्ने बाध्यतामा खुम्चिएर, बन्धनमा बाँधिएर चिन्नु न जान्नुसँग जो कोही अपरिचित मार्फत जन्मिएका सन्तानलाई माया गर्नै पर्ने बाध्यता हो संसारको जुनसुकै विवाह पद्धति । यस्तो अवस्थालाई स्वतः प्रस्फुटित प्रेम बन्न वा भन्न कसैले सक्दैन । न त यो प्रेमले जन्माएको सम्बन्ध मान्न सकिन्छ न त सम्बन्धले नै आफैँ जन्माएको वास्तविक प्रेम मान्न सकिन्छ । यस पद्धतिभित्र बाँधिने हर कोहीका कुनै न कुनै आशा, इच्छा, आवश्यकता, स्वार्थ, लोभ हुन्छ हुन्छ । यदि मनको वा सामाजिक आँखाको बाध्यता नरहे आवश्यकता पूरा गर्न नसक्नासाथ मान्छेको यस्तो सम्बन्ध टुटिहाल्छ र टुटेका अनेकौँ उदाहरण समाजमा प्रशस्तै पाइन्छन् । विवाह प्रेम वा भक्ति भने होइन । विवाह शाश्वत होइन मात्र मान्छेद्वारा बनाइएको एउटा विधि मात्र हो । कस्तो प्रेम भक्ति बन्छ ? अब अरू यसको उत्तर के दिनु र हो, प्रेम समर्पणको उत्कर्ष हो भने भक्ति प्रेमको उत्कर्ष हो । यसरी प्रेम भक्ति बन्न सक्छ तर मनमा आएको रौँ बराबरको शङ्काले भक्ति त के मान्छे वास्तविक प्रेमलाई प्रेमकै रूपमा बुझ्नबाट वञ्चित हुन्छ ।”
तपाईँ विनयकुमार शर्मा को भनाईसँग सहमत हुनुहुन्छ ? वास्तवमै विवाह समाजको अस्तव्यस्तता, भद्रगोलपन आदिलाई व्यवस्थित गर्न बनाइएको एउटा नियम मात्र हो ? हाम्रो समाजमा विद्यमान विवाह पद्धतिले व्यक्तिको मानसपटल सिर्जना हुने आत्मीक प्रेमलाई न्याय दिनसकेको छ त ? यस बारेमा चिन्तन र बहस गरी निष्कर्ष निकाल्न हामीलाई आवश्यकता महसुस नभएको हो या फुर्सत ? हामीकहाँ विद्यमान विवाहहरूमा साँच्चिकै समर्पण रहेको पाउँछौँ ? के यो विषयवस्तु आजको समयका लागि बहसको उपयुक्त विषय होइन ? हाम्रा अधिकांश सामाजिक समस्याहरू यो विषयसँग सम्बन्धित छैनन् ?
प्रश्नहरू अनगिन्ती छन् । आउनुस्, सँगै खोज्दै उत्तर र सामधानहरू ।।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

