सुविधासम्पन्न एवं आरामदायी बसोबसासको पर्यायवाची शब्द सहर (नगरपालिका) । नगरपालिकाको सफा सडक, सडकछेउ भित्तामा गगनचुम्बी महल, ती महलमा ठुला-ठुला पसल, विशाल महलको सिरानमा आँगन (छत) जुन सडकको छेउबाट नियाल्दा जो कोहीको टोपी झर्ने अवस्था । सबैले भन्न सक्ने सहरको विशेषता ठुला-ठुला महल, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, रोजगारी लगायतका सेवासुविधा र यिनै सुविधाको उपभोग गर्दै सेवासम्पन्न जीवनयापन गर्ने अभिलाषाले आफ्नो परिवार (श्रीमती, एक छोरा र एक छोरी) सहित गाउँको घर जग्गा बाँझो छोडेर सहर पसेको एक मजदुर हो धनजिते घर्ती । सहरको शाखा सडकछेउको पक्की घरमा डेरा गरेर परिवारसहित बसेर जीविका चलाइरहेको छ । धनजिते घर्ती सुविधासम्पन्न सहर निर्माणको एक इँटा हो । उसको दैनिक जीवन निर्माणकार्यमा बित्दै आएको करिब पाँच वर्ष जति भैसक्यो । पाँच वर्षयता बनेका महलहरू धनजितेको पसिनाबिना बनेका बिरलै मात्र छन, औँलामा नै गन्न सकिन्छ । यति धेरै महल बनाइसकेको धनजितेको आफ्नो भने सानो झुपडीसम्म छैन । महल बनि नसकिन्जेल सबै महल धनजितेलाई आफ्नै हुन् झैँ लाग्छ तर जब महल तयार हुन्छ बाहिर गेटमा नै लेखिन्छ “अनुमतिबिना प्रवेश निषेध” । कहिल्यै पनि उसले आफूले बनाएको महल बनिसकेपछि नियाल्ने अवसर पाएको छैन । धनजितेलाई घमण्ड छ “सबै घरहरू मैले बनाएको हुँ” । घमण्ड गर्ने आ-आफ्नै माध्यम छन् घरमालिक घमण्ड गर्छ “ मेरो घर बजारभरिकै सबैभन्दा अग्लो छ, मेरो घरको छानाबाट सबै सहर देखिन्छ” । उसलाई थाहा छैन कि त्यो घरको छानाबाट घर बनाउने धनजितेलाई कहिल्यै देखिएको छैन । घरमालिकलाई थाहा छैन घर बनाएकोमा धनजिते घमण्ड गर्छ र धनजितेलाई थाहा छैन कि घरको छानाबाट सहर नियालेर घरमालिक घमण्ड गर्छ । घमण्ड दुवैमा छ तर घमण्डको सार्थकता कसैमा पनि छैन । यही नै एउटा आनन्दको विषय हो ।
बिहान सबेरै उठेर निर्माण कार्यमा धनजिते जान्छ । घरको छानामा बोरामा माटो हालेर केही बोट प्याज, लसुन र धनियाँ छरिएको छ । बाँकी तरकारीको आपूर्ति धनजितेको भान्सामा हप्तामा दुईपटक लाग्ने हाट बजारबाट नै हुन्छ । बिहान उठेर खाना बनाएर छोराछोरीलाई खाना खुवाउनु, स्कुल पठाउनु, दिनभरि सडक छेउमा बसेर छिमेकीहरूसँग गफ गर्नु ,स्कुल बिदा भएपछि छोराछोरीलाई खाजा खुवाउनु र साँझ खाना बनाउनु धनजितेकी श्रीमतीको दिनचर्या हो । धनजितेलाई यो कुरामा पनि घमण्ड छ कि “मैले अरूको तुलनामा श्रीमतीलाई पनि सुखले नै पालेको छु” ।
छरछिमेकीको घरमा बिहे, भोज, पार्टी लगायतका उत्सव नभएको नै उसलाई जाती लाग्छ किनभने त्यस्ता उत्सव समारोह हुनुभन्दा एक हप्ता अघिदेखि नै धनजितेको घर गरगहनाको धपेडीले गुञ्जायमान हुन्छ । उनकी श्रीमती छरछिमेकीको गरगहनाको तुलनात्मक अध्ययनमा लाग्छिन् र अध्ययन प्रतिवेदनसहित धनजितेसमक्ष नयाँ डिजाइनका गरगहनाको माग राख्छिन् । धनजिते न त यो माग नै पूरा गर्न सक्छ न त यो कुरा इन्कार नै गर्न सक्छ । यसबेला उसलाई आफ्नो पुरानो गाउँको याद आउँछ । उसको मासिक आम्दानीले जेनतेन खर्च धान्छ तर आकस्मिक रूपमा आइपर्ने खर्चलाई भने व्यवस्थापन गर्न हम्मे-हम्मे पर्दछ । सामान्य अवस्थामा जीविका चलाउनलाई समस्या छैन तर छरछिमेकमा हुने उत्सव, समारोह, स्वास्थ्योपचार गर्नुपरेको अवस्था, छोराछोरीलाई स्कुलले लाने शैक्षिक अवलोकन भ्रमण लगायतका आकस्मिक रूपमा हुने खर्चको व्यवस्थापनले भने धनजितेलाई दाँतबाट नै पसिना निकाल्ने गरेको छ ।
जेनतेन दैनिकी चलिरहेको थियो आफ्नो परिवार सञ्चालन मध्यम रूपमा गरिरहेको थियो । छोराछोरीको पढाइ सामान्य चलिरहेको थियो । अचानक विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस (Covid 19) का कारणले २०७६ चैत्र १० गते राति १२ बजेदेखि सवारी साधन आवागमन, बजार, पसल लगायत सम्पूर्ण कामकाज प्रमुख जिल्ला अधिकारीको निषेधाज्ञा अनुसार बन्द भयो । उसको भान्सामा करिब पाँच दिनलाई खान पुग्ने खाद्यान्नको मौज्दात थियो । मौज्दात सकिएपछि विभिन्न सङ्घसंस्थालगायतका सहयोगी मनहरूले दिएको राहत आदिले जीवन गुजारेको थियो । त्यसै समयमा विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सूचना आयो । अब धनजितेलाई अर्को समस्या थपियो नियमित विद्यालयको शुल्क तिर्नु त छँदै थियो थप छोराछोरीलाई स्मार्ट फोन किनिदिनुपर्ने भयो । विगत एक महिनाअगाडिदेखि आफ्नो काम बन्द भएको थियो । सामान्य बजार खुलेसँगै महँगी बढेको थियो । दैनिक गुजाराका सामग्री खरिद गर्नेसम्मको आम्दानी नभएको अवस्थामा मोबाइल फोन खरिद गर्नुपर्दा धनजितेको टाउकामा एकमुष्ट ऋण थपियो । अब दैनिक गुजारा मात्र चलाएर भएन मासिक रूपमा ऋणको ब्याजसमेत भुक्तानी गर्नुपर्ने दायित्व थपियो तर आम्दानी भने थपिएन खर्च कटौती गर्नेसमेत ठाउँ थिएन । कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको धनजितेको दैनिकी र अर्थतन्त्र सामान्य अवस्थामा फर्कने क्रममा थियो । फेरि पनि कोरोना भाइरसको आतङ्क बढ्न थालेसँगै धनजितेको मुटुको धड्कन बढ्न थालेको थियो ।
२०७७ सालको चैत्र लागेसँगै कोरोनाको सङ्क्रमण बढ्न थालेको समाचार विभिन्न सञ्चार माध्यममा सुनिन थाल्यो । यसले धनजितेको मनमा आतङ्क मच्चाउन थालिसकेको थियो । अचानक अस्पतालमा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेकाले यसपालि पनि प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार निषेधाज्ञा जारी गरियो; निषेधाज्ञासँगै बजार पसल पनि बन्द भए यससँगै धनजितेको भन्सामा समेत निषेधाज्ञा लाग्यो । उसको भान्सामा दैनिक उपभोग्य सामग्रीको प्रवेश बन्द भयो । कोठाको खाद्यान्नको मौज्दात रित्तियो, गत सालजस्तो राहतका कार्यक्रमसमेत सञ्चालन भएनन् ।
आज धनजितेले बनाएका महलमा बस्ने धनाढ्यहरू कोरोनाको सङ्क्रमणले थलिएर महँगो निजी अस्पतालको बेडमा विवशताको साङ्लामा बाँधिएका छन् । कहिले सघन एन. आई. सि. यु कक्ष त कहिले भेन्टिलेटर कक्षमा चारैतिर अक्सिजनरूपी पाइप बेरेर बसेका छन् । अहङ्कारको खोक्रो धनलाई आदर्श मानेका यिनीहरू आज पश्चात्तापको नौनीझैँ पग्लिएका त छन् तर अफसोस मृत्यु शय्याबाट आएको निमन्त्रणा जसरी भेन्टिलेटर कक्षमा आउने कम्प्युटरको टिङ……….टिङ आवाजले बताइरहेको छ । आज ती महलवासीहरूको सम्पति निःशुल्क पाइने अक्सिजन किन्नमा झिनो साबित भैसकेको छ, भएको श्रीसम्पत्ति धितो राखेर महँगो ब्याजमा लिएको ऋण मुठीभरको श्वास बचाउन खर्चिनुपरेको छ । अन्ततः ती महलवासी सहरियाहरू मरिने चिन्ताले चिन्तित छन् भने धनजिते भोकमरीले मरिने चिन्ताले चिन्तित छ । समानता यही हो दुवै तनावमुक्त हुन सकेका छैनन् । कसैलाई महामारीबाट ज्यान बचाउने चिन्ता त कसैलाई भोकमरीबाट ज्यान बचाउने चिन्ता !!!!!!!!!!!!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।