अचेल म
भोकको शोकलाई चिन्दैछु
भोगको दोषलाई उछिन्दैछु
अन्नको एकएक दानाको शक्ति
मन परेका एक जोडी वस्त्रको सौन्दर्य
कुबेरले तोरीका गेडा टिपेको कथा सम्झिँदैछु
अचेल म
मेरो दिमागमा बनेका सयौं काल्पनिक संसारहरूको भ्रमण गर्दैछु
मेरो मनमा बसेका सयौं वास्तविक पात्र श्रवण गर्दैछु
अचेल लाग्छ
वास्तविक त संसार हुनुपर्दो रहेछ
काल्पनिक, मनमा बसाउने पात्रहरू !
अचेल म
हारभित्रको जीतलाई छुट्याउँदैछु
यो कोलाहल बीचको गीतलाई सुन्दैछु
तुफानपछिको सन्नाटामा उभिएर म
खोज्दैछु मेरो घरको उडाएको छाना
म अचेल
यही समाजमा बसेर समाज खोज्दैछु
देश खोज्दैछु
यत्तिका मानिसको भीडमा बसेर
अचेल म मान्छे खोज्दैछु
अचेल म
हराएको ‘म’लाई खोज्दैछु
दुनियाँ बोझ बोकेर हिँडिरहेको आफैँलाई बोक्दैछु
जिन्दगी भर्खर शुरु हुने बेला छ
म खोई! कुन कुराको अन्त्य खोज्दै छु!
अचेल म
मौनताभित्रको आवाजलाई सुन्दैछु
र बुझ्दैछु यी उच्छ आवृत्तिका तुच्छ आवाजहरू
त्यो चिताबाट उडिरहेको धुँवाको गन्धले
अचेल मेरा सम्पूर्ण भोकहरू मेटिएका छन्
अचेल मेरा रहरहरूको मृत्युदर बढ्दो क्रममा छ
म अचेल
मेरा रहरहरूको भ्रूण हत्या गर्दैछु
अचेल म
यी आँशुहरूको भारी वजन जोख्दैछु
रित्तिएका हाँसोहरुको भकारी सम्झिँदैछु
आमाको अविरल ममता बुझ्दैछु
बुवाले नदेखिने गरी दिइरहने प्रेम देख्दैछु
बुझ्दैछु, आफन्तहरूको गाली र तालीका नियमहरू
हुँदा लाग्ने र नहुँदा लाग्ने बेग्लाबेग्लै कानुनहरू
मुढिदै गएका साथीका साथहरू हेर्दैछु
लेख्दैछु भूतपूर्व प्रेमीका कविता
म अचेल कहाँ छु, ठेगाना खोज्दैछु
अचेल म
जुन धरातलमा छु, बिल्कुल नयाँ छु!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 






