खान लागेको गाँसमा झिँगा परेजस्तो
भएको केही होइन ठूलै काम गरेजस्तो
शिखरमै पुगेको आरोही लु लागेर झरेजस्तो
यस्तै छ जिन्दगी अचेल न जिएजस्तो न मरेजस्तो
यस्तै छ!

दुई प्रेमीबीच प्रेम हुँदाहुँदै छुटेजस्तो
झुण्डिन लागेको डोरी झ्वाट्ट चुटेजस्तो
घुमाउँछ, बिरामी शरीर एकैचोटि उठेजस्तो
छरिएको जिन्दगी सस्तो काँचको सिसा फुटेजस्तो
यस्तै छ!

फलफूलको बोटमा अचम्मसँग पत्थर फलेजस्तो
भर्खरै सम्पन्न नयाँ घर भूकम्पले ढलेजस्तो
जान लागेको गन्तव्यमा भयङ्कर महामारी चलेजस्तो
हट्टाकट्टा देखिने सुगठित शरीर फतक्क गलेजस्तो
यस्तै छ!

हिँड्दाहिँड्दै बाटोमा अचानक सिकारी बाघ देखेजस्तो
पछाडिबाट गोमन साँपले जोडजोडले लखेटेजस्तो
असमञ्जसको स्थितिमा खोजेजस्तो गुरु नभेटेजस्तो
जिन्दगी अतृप्त छ अचेल पानीको प्यास दुधले नमेटेजस्तो
यस्तै छ!

रातको ऎँठन दिनमै पर्दैछ अचेल
खै यो जिन्दगीले के-के गर्दैछ अचेल
झिना आशाहरू पनि एकएक मर्दैछ अचेल
दुवा थियो आशीर्वादको श्रापले झोली भर्दैछ अचेल
यस्तै छ!