लिलामीमा घर
इँटाको होइन,
आत्माको।
भित्ताहरूमा टाँसिएको छ
सम्झनाको फिक्का रङ,
र छानामुनि झुन्डिएको छ
विवेकको दीप, जो बिस्तारै निभ्दैछ
मानवको हाँसोको हावाले।

उनीहरूको पनि घर बिक्रीमा छ,
तर कसैलाई थाहा छैन —
त्यो घर ईमानको हो कि आवरणको?
सबै जना रमिता हेर्न आएका छन्,
कसैको पीडा हेरी आनन्द खोज्न।

हेर्नुपर्ने रहेछ यहाँ,
पहाड पनि कण बनेको
र कण पनि पहाड बनेको,
दुःख र बेइज्जतीबीचको पातलो रेखा,
अभावको रगतले कोरिएको हो।
तर तिनीहरूलाई त्यो देखिँदैन,
किनकि आँखामा छ स्वार्थको पर्दा,
र कानमा, रसिएको हल्लाको स्वर ।

तिमी किन रोक्छौ अझै?
छोडिदेऊ
उनीहरूलाई नाच्न देऊ,
हाँस्न देऊ,
यदि तिम्रो रगतका थोपा
उनीहरूको हर्षको फूल बन्न सक्छन् भने।

म त अब मौन छु
मौन,
तर हराएको छैन।
मेरा शब्दहरू गुमेका छैनन्,
म त केवल आत्माको प्रदर्शनीमा
मेरो विवेकको मूल्य तौल्दैछु।

किनभने,
मेरो मौनता नै मेरो अस्तित्व हो,
मेरो मौनता नै मेरो चिच्याहट
र यही मौनतामै मेरो अस्तित्वको अन्तिम श्वास बाँकी छ,
त्यसैले
आज घरभित्रको विवेक,
लिलाम बढाबढमा चढिरहेको छ।