ठूल्दाइ! उता हेर त,
राजनीतिको रङ्गमञ्चमा
बेढङ्गको अभिनय गर्दैछ विदूषक।
खुल्ला भएको छ
षड्यन्त्रको ढोका,
बेफिक्री भित्र–बाहिर गर्दैछन्
सल्याङमल्याङ अपराध कर्महरू।
पलपलमा ठक्कर लागेर
विस्मयको चाङभित्र
रुमलिँदै घाइते भएको छ विश्वास।
उठ्नै सकेको छैन –
फुट्ने र फुटाउनेको खेलसँगै
लौरो टेक्दै गरेको परिवेश।
सबै बिर्सिएर अराजक बन्दै गएको छ समय,
विश्राम लिने चाहना गर्दैनन्
नाटकका महानायकहरू।
अझै बुझ्नै चाहँदैनन् –
गन्तव्यको पनि लक्ष्य हुन्छ,
सहनुको पनि त हद हुन्छ।
ठूल्दाइ! बोलाऊ
तिम्रा छोराहरू खाडीबाट,
फर्कनुपर्छ अब तिनीहरू
आफ्नै माटोमा।
र फर्काऊ छोरीहरू पनि
भाग्यको कठोर दासताबाट।
आफ्नै देशलाई चाहिएको छ
ती जाँगरिला हातहरू।
नवनिर्माण गर्नु छ
अब बेथितिका थुप्रै चाङहरू भत्काएर
युवा पुस्ताको सुन्दर भविष्य।
पुनर्निर्माण गर्नु छ
विकृतिका जडहरू फोडेर
समृद्ध राष्ट्रको एउटा बलियो किल्ला।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 






