सुविधाभोगी मान्छेको सोच
जुम्रा हो
उपियाँ हो
शरीर मरेपछि साथ छोड़िदिने
एकदमै स्वार्थी
सुविधाभोगी मान्छेको सोच !
चारैतिर
टोकुवा सोचहरूको रगरगी छ
चखुवा सोचहरूको चकचकी छ
अहो!
विद्रोहको स्वर भने पिलिएछ
विरोधको ओठ भने सिलिएछ।
अरूकै मात्रै थुप्रो देख्ने
डङ्गुर थुपार्नु मात्र भन्ने
लोभको च्यापच्याप रालमा डुबेको
हन्तकाली भोक र भोग बोकेर
भक्कु चुस्छ सजिलोपन
खँगार पार्छ आफ्नोपन
परजीवी सोच !
सकेजति सबै खाँद्नुसम्म खाँद्छ
कुनाकाप्चा, चारैतिर कोचार्नसम्म कोचार्छ
अगस्ती सोच !
एउटै सत्य मात्र थाहा हुँदैन त्यसलाई
अनि त्यो सत्य हो –
“कात्रोमा गोजी हुँदैन।”