 
			
			
			
			
			
			मेरो प्राण यति शक्तिशाली थियो,
यति मनमोहक थियो,
मलाई मार्न सकेनन्।
मलाई फ्याँक्न मन पराए।
चारैतिर दुर्गन्ध फैलिएको ठाउँ थियो।
माकुराको जालोले भरिएका कुनाहरू थिए।
झिँगा र विषालु किराहरू उडिरहेका थिए।
मादकपदार्थ सकिएर फ्याँकिएका बट्टाको थुप्रो थियो।
ह्वास–ह्वास आइरहने नमिठो गन्ध थियो।
म रूनु पनि किन?
म-
सार्वजनिक शाैचालयको कुनै कुनामा फ्याँकिएको
एउटा अबोध बालक हुँ।
म रोएर थाकिसकेको थिएँ।
आँसु जमिएर डम्म सुन्निएका निश्चेत आँखाले
उँभो हेरिरहेकाे थिएँ।
म खोजी गर्दै थिएँ-मेरो जननी!
किनकि
जब मलाई यहाँ ल्याइयो,
मेरो आँखामा कालो पट्टि बाँधिएको थियो।
त्यो कालो लुगा मेरो अबिरल बगिरहेको आँसुले
केही तलसम्म बगाएपछि मैले उज्यालो देखें-संसार देखें।
कति बाध्य र विवश थिए होलान् ती हातहरू,
जसले मलाई यहाँ एकान्तमा, एक्लै छोड्न बाध्य भए।
कति बलिया थिए होलान् ती पाखुरा,
जसले मेरो प्राण लिन सकेनन्
मिल्काई दिन नै सही ठाने।
मलाई थाहा छ,
म कुनै युगलको मिठो स्वर्णिम क्षणको उत्पत्ति हुँ।
मान्छेका दुई जात—पुरुष र महिलाबाट भएको व्युत्पत्ति हुँ।
शुक्राणु र डिम्बले प्रस्फुटित गरेको
ईश्वरको बरदान—भ्रूण हुँ ।
म एक अज्ञात शिशु हुँ।
मलाई यो पनि ज्ञान छ,
म फ्याँकिनुको कारण के–के हुन्।
कि म सस्तो मायाको घिनलाग्दो कुकर्म हुँ,
कि म महान् प्रेमबाट समाजसँग डराएको
कायर तत्त्व हुँ।
म
बिस्तारै स्थिर हुँदै गइरहेछु।
कमलो मेरो त्वचा छेडेर मछड रमाइलाे गरिरहेका छन्।
आलो खुन नसुकेको मेरो नाभिमा झिँगा फनफनाइरहेका छन्।
विषालु पुतलीहरू मेरो आँखामा डम्म बसेका छन्।
कलीलो मेरो ओठको रगत चुस्दैछन् गुह्य किरा।
भर्खरै टुसाउँदै गरेको मेरो कपाल,
र केही नलेखिएको निधारमा कमिलाहरू हिँडिरहेका छन्।
अब
मैले अघि राेएको आवाज सुनेर एउटा जमात आउनेछ यहाँ।
कोही अचम्मित हुनेछन्,
कोही ट्वाल्ल पर्नेछन्,
कोही घिनाउनेछन्,
कोही ठट्टा गर्दै खित्का छोडेर हाँस्नेछन्,
कोही गालीका शब्द उच्चार्दै आँखालाई हातले छोप्नेछन्।
म भिख मागिरहेको छु-
मलाई बचाऊ!
त्यति बेलासम्म,
जति बेला मेरो पहिलो शब्द निस्किनेछ-
आमा!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १३ कार्तिक २०८२, बिहीबार
  
				१३ कार्तिक २०८२, बिहीबार				

 




 
																	 
																	 
																	 
																	




