मलाई डर लागेको थियो । उसको आँखामा रगत चढेको थियो ।
वास्तवमा ऊ मबाट बिलकुल अनजान थियो । मान्छेलाई टाउकोमा राख्न हुँदैन । मलाई अहिले ज्ञात भइरहेछ ।
‘मलाई बेसी रिस नउठा !’ मिस्टर प्रधानको आँखा सोझै मतिर छ अहिले । अनि रीसपूर्ण चेतावनी पनि ।
हेरें । उसको गिलास रित्तिएको थियो । तुरुन्त पेक थपिदिएँ ।
‘तपाईंलाई रीस उठ्दैन ? म तपाईंलाई रीस देखाउँदै छु । तपाईं मलाई रक्सी थपिदिनु हुँदैछ !’
प्रधान अझै झोक्किंदै मलाई हेरे । फेरि मलाई खोचे थाप्ने भनाइ पनि । उहाँको आँखामा रगत उस्तै थियो । रीस अनि विस्कीको मात सम्मिश्रण । क्रूर । मतुवा !
मैले थपिदिएको पेक पानी विना नै स्वाट्ट पारे मिस्टर प्रधानले । अहिले मैले पनि हल्का चुस्की मुखमा हालें । मसँग यो ज्ञान छ साम्ने बसेको पार्टनरलाई हेरेर मात्र मात्ने चीजको प्रयोग गर्नुपर्छ । बेसी-कम्ती ।
‘म तपाईंको अफिसमा ताला लगाइदिन्छु । सिबीआइ रेड गराइदिन्छु । बुझ्नु भ !’ मलाई धम्की दिएपछि उनले एउटा सिक्रेट सल्काए । फुक्न थाले ।
मैले वेटर बोलाएँ र मगाएँ, केही स्नेक्स र फ्राई पनिर पनि ।
‘मान्छे व्यापारमा छ वटा बिन्दु पुगेर सफल हुन्छन् तर त्यसको विपरीत बाह्र बिन्दुले व्यापारीलाई बाटोमा पुर्याइदिन्छ ।’ मैले मिस्टर प्रधानलाई शुरूवात मै भनेको थिएँ । यो पनि थपेको थिएँ, ‘व्यापारले मान्छेलाई जन्माउँदैन परन्तु बनाउँछ ।’
बजारमा हाम्रो ठूलो प्रतिस्पर्धा छ । उनले अदुवाको धूलो (पाउडर) र नर्थ-इस्ट रिजनमा सहजै उपलब्ध हुने अकबरे खोर्सानी (ड्रयागन-चिल्ली)को विश्वबजार पक्रेपछि म केही छोडिए । तर उनी धेरै अघि बढ्न सकेनन् । त्यही फलस्वरूप आज धेरै दिनपछि हामी शहरको एक रेस्टुरेन्टमा बसेका छौं ।
अहिले ऊ घाटामा छ । बैंकको ऋण छ । सहयोगीहरूले साथ छोडिदिएका छन् ।
आज मलाई उनले बिहानै एउटा रिक्वेस्ट कोटेशन मेरो पर्सनल आइडीमा पठाएका थिए । मसँगको साझेदारी इच्छा प्रकट गरेका थिए । व्यापारमा स्थायी दुश्मन हुँदैन । न त मित्रता नै हुन्छ । यो पनि राजनीति जस्तै हो । जहाँ मुनाफा हुन्छ त्यही दोस्ती शुरू हुन्छ । गठबन्धन जस्तै राजनीतिको ।
मैले सोझै सम्पर्क गरें उनलाई अनि गेट-टुगेदरको इच्छा पनि राखें ।
देवप्रकाश प्रधान ! इन्डस्ट्रीको मालिक । आज मैसँग बसेर बेसुरा भएर मैलाई रीस पोख्दै छन् । तर म पटक्क रिसाएको छैन । शुरूमा डर लागेको नै हो उनको आँखामा देखेको रगतबाट । तर त्यो त सूराबाट निस्केको अर्थविहीन रह्यो अब ।
सोचाइबाट यथार्थमा हाम फालेर सोध्छु, ‘के चाहानु हुन्छ मबाट ?’
मेरो प्रश्न सुनेर उनी स्थिर भए । हेरे मलाई । पेक स्वाट्ट पारे । कचाककचाक ! आवाज निक्लिनेगरी मासुको चोक्टा चपाए ।
‘मैले तपाईंलाई त्यत्रो छल गरेर आफ्नै कम्पनी खोलें । तपाईंको बजार बिगार्ने दुस्साहस गरें । आज मसँग कोई छैनन् । तर तपाईंले मलाई मद्दत गर्ने..?’ प्रधान पूरै मातेका थिए । तर दिमाग तन्दुरुस्त थियो । सत्यता त छँदै थियो ।
मान्छे आकाश छुन धर्ती बिर्सन्छन् । तर झर्दा एउटा सानो जग्गाको अभाव हुन्छ । त्यो जग्गा मैले उनलाई दिन खोजेको मात्र हो ।
उनले मबाट पच्चीस लाख मागे ।
मैले तत्काल चेक साइन गरिदिएँ ।
ऊ छक्क परे ।
समस्यामा पनि मित्रता कायम राख्नु जरूरी हुन्छ । म यो सोचमा गदगद भएँ ।
भारत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।