एसियन हाइवेको फराकिलो बाटोमा लगभग एक सयको स्पिडमा म थिएँ । गाडीको अडियो टेपमा बजिरहेको थियो घरी किशोर कुमार घरी अरिजित घरी जुबीन..!

एक विशेष काम सकेर फर्किरहेको थिएँ । थकित थियो जीउमा । बाटाको छेउछाउ कुनै चियाको ठेला हेर्दै गाडी हाँक्दै थिएँ । चियाको ठेला भेटे रोकेर चियासँगै एक खिली चुरोट फुक्ने ताकमा थिएँ । तर देखिन कतै चियाको ठेला न भेटे कुनै सुनसान ठाउँ ।

फोन बज्यो यतिकैमा ।

नम्बर सेभ थियो मेरो मोबाइलमा । एक समयको मेरो विद्यार्थीको अभिभावकको कल थियो ।

कल उठाएँ ।

‘हलो ! नमस्कार !’ मैले भनेँ ।

‘…!’ –  मतलब बुझिनँ मैले ।

‘हलो !’ – फेरि भनेँ ।

‘..!’ – अझै बुझिनँ कलमा आएको स्वर ।

अलिक नजिक फराकिलो ठाउँमा छेउ लगाएँ गाडी ।

लाग्यो कुनै जरुरी काम होला ।

फोनकल काटिसकेको थियो । कल लगाएँ । रिङटोनमा हनुमान चालिसाको मन्त्र रहेछ । सुनेर एक क्षण शान्त भयो ।

पछि फोनकलको स्वर बोल्यो, ‘गौतम भाइ ! के हौ ढिलो भइसक्यो । छिटो आऊ !’ यति बुझेँ ।

फोन काटियो । मलाई छटपट भयो । फेरि कल गरेँ र भनेँ, ‘भन्नुहोस् त !’

‘मेरो छोरीलाई एयरपोर्ट पुराउन हिजै भाडा दिएको त मैले । २ बजेको टाइम..!’

त्यतिकैमा फेरि कल काटियो । कल लगाएँ । लागेन । चार–पाँच पटकको प्रयासले पनि लागेन । नेटवर्कदेखि बाहिर भन्यो ।

भाडा ? अचम्म लाग्यो ।

मैले कसबाट लिए त ? कहिले लिए ?

मलाई तनाव भयो । न त फोनकलमा चुडान्त कुरा नै भयो ।

अहिले यति ज्ञात छ विमानस्थल म हिँडिरहेको अघि झन्डै दश किलो मिटर अघि रहेको छ । म आफ्नै गतिमा हिँडिरहेँ ।

दोस्रो पल्ट त्यो कल फेरि आएन । मैले गरिनँ पनि ।

लगभग तीन किलोमिटर बढे पछि एक गाउँ आयो । अलिक अघि एउटा बस स्टप पनि । यी सब काटेपछि एक युवतीले मेरो गाडी रोक्ने सङ्केतका हात उठाएको देखेँ । ऊसँग एक ठुलो सुटकेस र एउटा ब्याग थियो ।

मैले गाडी रोकेँ । हतार थियो उसलाई ।

‘लु छिटो दाज्यू !’ – भनिन् । अनि हतार-हतार आफ्नो सामान गाडीको पछिल्लो सिटमा खाँदेर हालिन् । आफै पनि पछिको सिटमा बसिन् ।

मैले सोचेँ अघिको फोनकल अनि युवतीलाई सोधें, ‘एयरपोर्ट ?’

‘हो त !’ भनिन् ।

सोचेँ – फोनकलको छोरी यही रहिछ ।

अनि सोचेँ नजिकै त छ एयरपोर्ट । लगिदिनुपर्यो । गाडी अघि बढाएँ ।

चढे पछि युवतीसँग मैले बात गर्न नै मिलेन । भनौं  घरी कोसग । घरी कसैसँग । म त चुपचाप ड्राइभर भएर सुनेर गाडी कुदाइरहेँ !

एयरपोर्ट पुगेर हतारको साथ उसले आफ्नो सामान झारिन् । म गाडीबाट झर्नु परेन ।

ढ्याप्प दैलो लगाई । अघि आएर युवतीले मेरो दाहिने सिटमा पैसा राख्दै भनिन्, ‘थ्याङ्ख्यु ! लु लिनुहोस् !’

त्यस पछि ऊ गई ।

मसँगै बाटामा धेरै गाडीको लस्कर थियो । गाडी रोकेर उसलाई केही भन्ने स्थिति मेरो थिएन । मैले गाडी अघि बढाएँ ।

एयरपोर्ट बाहिर आएपछि एक खाली ठाउँ हेरेर गाडी रोकेँ मैले । अनि अघिको कल नम्बरमा फोन लगाएँ ।

भन्नु थियो, ‘तपाईंको छोरी मैले समय मै पुर्याइदिएँ ।’

तर कल अझै लागेन ।

खल्लो लाग्यो मलाई । उहाँको खुसीको महसुस गर्ने मेरो इच्छा अधुरो रह्यो । छेउको सिटमा रहेकाले पैसा हेरेँ । कति रहेछ ? उठाएर गन्न मन लागेन । मैले गाडी अघि बढाएँ ।

निक्कै पर पुगेको थिएँ । मोबाइल बज्यो । हेरेँ त्यही कल थियो ।

अहिले भने गाडी  साइड लगाएरै कुरा गरेँ, ‘हेलो !’

‘नमस्ते सर !’ फोन कलले भन्यो ।

‘हजुर !’ भनेँ ।

‘कल गर्नु भाको थियो ?’

‘हजुर !’

‘किन सर ?’ उताबाट प्रश्न आयो ।

‘ए, सर ! गौतम ड्राइभर भाइलाई कल गरेको नाम गल्ती भएर तपाईंलाई कल गरेछु, सरी ।’

फोन कलले हाँस्दै भन्यो ।

‘अनि छोरी गइन् त ?’  मैले सोधें ।

‘हैन नि सर ! म त बाहिर छु । छोरीको फ्लाइट त भोलिको पो रैछ । सरी सर तपाईंलाई डिस्ट्रप गरेँ… हा हा हा..!’

हाँस्दै कल काटियो ।

गाडीको स्टाड्रड बन्द गरेँ मैले ।

मैले कसलाई एयरपोर्ट पुराएँ त ? आफैलाई सोधें । अनि आफै हाँसे…!

त्यसपछि गाडी अघि बढाएँ हेर्दै बाटोको छेउ कतै चियाको ठेला छ कि…!!

तर

अहिलेसम्म मैले गनेको छैन त्यो युवतीले दिएको पैसा कति छ ?

दार्जिलिङ