रिपन गौतम

ठिङ्ग
उभिएको छु
खेतबारीको बीच
बूढो बाजे जस्तै।

कति पानीले कुट्यो कति
घामले पोल्यो कति जाडोले भेट्यो
कुनै हिसाब छैन।

फुटेको हाँडीले बनिएको छ मेरो टाउको
परालको तेन्द्रोले भरिएको गिदी छ
आँखा छैन तर देख्न सक्छु

बाँझो जमिन देख्छु।

अब त भुइँझार मात्रै देख्छु
सिरू फुलेको बनबारा झ्यामिएको
इलामे फैलिएको देख्छु
पट् पट् फुटेको खेतका गह्रा देख्छु
यही बाटो भएर झण्डाको भेला मेला देख्छु
जुलुस देख्छु रगत र रमिता एक साथ देख्छु
यही खेतको आली आली पलायन हुँदै गरेको युवा खुट्टाहरू देख्छु।

अहिले मैले नदेखेको खेतको बाली मात्रै हो
फापर मकै कोदो धान
डिलमा बाकलपाते आलीमा कालो दाल।

कान छैन मेरो
तर डाँडाको भाषण सुन्न सक्छु
गीत र मित सुन्छु
ताली र गाली सुन्छु।

केटाकेटीले ढुङ्गाको लक्ष्य ताकेर हिर्काएको चोट सहेर
बाङ्गो भएको छु म
अस्थिपञ्जर भएको छु।

गाडेर गएपछि मेरो मालिक फर्केनन्
मेरो खुट्टा मक्किएको छ
यहाँ नै बसेर गाउँका अल्लारेहरू कुकर्म गर्छन्
चुरोट रक्सी तान्छन्
मेरो आडमा जीवन बिनास् गर्दैछन्।

मेरो हात फैलिएको छ अनि निर्धो छ
तिनीहरूलाई म न खै गर्न‌ सक्छु न लाखेस् नै।

सबै देख्दा लाग्छ
मेरो पनि मुटु भएको भए म छाँद हालेर रूने थिएँ होला ?
आँखाबाट खस्थ्यो होला आँसु
हिँड्ने खुट्टा भएको भए टुङ्गोमा पुगेर पुनर्निर्माण गर्ने थिएँ होला ?
चल्ने हात पाखुरा भएको भए
निवेदन गर्ने थिए होला ?
थप्पड लगाएर तह लगाउने थिएँ होला ?

फगत म बुख्याचा
मेरो धर्म तर्साउनु हो
तर आज म आफै तर्सेर लकलक भएर बाँचेको छु
आफ्नै पीडा लिएर उभिएको छु।

डर यति छ
यो मान्छेहरूले
परालको मेरो शरिरमा कुन दिन आगो छोडिदिने हो !

रिपन गौतम
दार्जिलिङ
भारत।