दागी निधार र घाइते छाती हेर्न
भो,यो तिहारमा तिमी नआउनू!
सप्तरङ्गी टीका थाप्ने निधार
गोलीको छर्राले चाल्नो भएको छ
माला थाप्ने फराकिलो छाती
बुटको प्रहारले किमा बनाएको छ
मन थाम्न सक्दिनौ नि दिदी!
रगतको आहाल हेर्न
भाइको यो बेहाल हेर्न
भो, यो तिहारमा तिमी नआउनू।
बौलाएको बाढीले
तिमी तर्ने तुइन बगाएको सुन्दैछु
अस्पतालको शैय्यामा म
श्वास धान्ने सपना बुन्दैछु
सर्वत्र विवेक गुमेको बेला
कोही यहाँ मानसिक सन्तुलनमा छैन
भाइमसला कोसेली बोकेर
भो, यो तिहारमा तिमी नआउनू।
आगे साललाई
जोगाएर राख्नू ममताको मखमली
सँगालेर राख्नू सदभावको सयपत्री
अर्को शरदको एक घमाइलो बिहानमा
म आफैं आउनेछु तिमीकहाँ
बेदाग निधार र गर्विलो छाती लिएर
मन गाँठो पारेर रुन्चेहाँसो देखाउन
भो, यो तिहारमा तिमी नआउनू।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१३ कार्तिक २०८२, बिहीबार 









