१.
डाडु, पन्यु र कन्ती, पहिल्यैदेखि तयार छन्
साधु, मलामी र जन्ती, पहिल्यैदेखि तयार छन्
देश बनाउन मात्र नेताजी तयार हुनु पर्यो अब
यहाँ कुटो, पिक र खन्ती, पहिल्यैदेखि तयार छन् ।
२.
यहाँ ठग बाठो र सज्जन लाटो कहलाइन्छ
आफ्नो आलो अरुको घाउ खाटो कहलाइन्छ
बेग्लै छ दुनिया बेढङ्गी छ सोच्ने तरिका पनि
आफ्नै भए त्यो डिम्पल नभए टाटो कहलाइन्छ।
३.
मनले जेजे बक्यो, त्यही नै हो मन्तव्य मान्छेको
गोडाले जता बोक्यो, त्यही नै हो गन्तव्य मान्छेको
योजना भन्ने चाहिँ, सोकेसमा सजिएको गुडिया रै’छ
भूमिकाले जेजे तोक्यो, त्यही नै हो कर्तव्य मान्छेको।
४.
सास्तीको डन्डा चलाउन जानेनौ, के उन्नति हुन्थ्यो!
प्रशस्तिको राग अलाप्न मानेनौ, के उन्नति हुन्थ्यो!
एकसुरे भई चढिरह्यौ केवल, श्रम-सीपको पर्वतमाला
ऐन मौकामा कोदो र तोरी छानेनौ, के उन्नति हुन्थ्यो!
५.
सबैको भान्सामा साग-भुजाको कार्यक्रम चल्नु पर्यो
प्रत्येकको आँखामा पन्ध्र वाटको गुलुब बल्नु पर्यो
खुट्टा टेक्ने, आँखा देख्ने यत्ति मेसो मिलाइदे सरकार
इमानको गाँस खान यहाँ कोढीको पाउ मल्नु पर्यो!
विदुर-५, नुवाकोट ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ कार्तिक २०८२, शनिबार 








