नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले स्रस्टा सम्मान, कृति विमोचन तथा रचना वाचनको कार्यक्रम सहित आफ्नो सातौँ अधिवेशन जेठ २९ गते गते आइतबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ।

प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौँको सभाकक्षमा सन्चालन भएको उक्त कार्यक्रम विध्युतकर्मी साहित्यिक समाजका सचिव प्रकाश आचार्यले सन्चालन गर्नु भएको थियो।

सो कार्यक्रममा नेपाल विध्युत प्राधिकरणबाट सेवा निवृत्त हुनुभएका प्रगतिवादी साहित्य साधक मातृका पोखरेल तथा साहित्य स्रस्टा रमेशप्रसाद न्यौपानेलाई प्रमुख अतिथि ज्ञवालीले ताम्रपत्रबाट तथा विध्युतकर्मी साहित्य समाजका अध्यक्ष कृष्णदेव रिमालले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

“अमर ज्योति साहित्य सम्मान- २०७९” बाट सम्मानित व्यक्तिहरूको व्यक्तित्व र कृतित्वका बारेमा अमरज्योति साहित्यिक त्रैमासिकका कार्यकारी सम्पादक विष्णु आचार्य “अतृप्त”ले टिप्पणी गर्नु भएको थियो भने सम्मानित हुनु भएका स्रस्टाद्वयले आफ्नो मन्तव्यसहित रचना वाचन गर्नु भएको थियो।

उक्त समारोहमा अमरज्योति साहित्यिक त्रैमासिकको ५४ औं अङ्कका साथै प्राधिकरणका क्रियाशील स्रस्टा विष्णु आचार्य “अतृप्त”को “घर फर्कने तिर्खा” कवितासङ्ग्रह लोकार्पण समेत गरिएको थियो।

विमोचित कवितासङ्ग्रहको शक्ति र सीमामाथि अतिथि व्यङ्ग्य निबन्धकार वाशुदेव गुरागाईँ (पिँडालु पन्डित) ले सङ्क्षिप्त टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद ज्ञवालीले विभिन्न दृष्टान्तसहित साहित्यको महत्व र समाज रुपान्तरणमा यसले पार्ने प्रभावमाथि प्रकाश पार्नु भएको थियो। उक्त कार्यक्रममा स्रस्टाहरू कृष्णप्रसाद पौडेल, शारदादेवी भट्टराई, मोहनबहादुर कायस्थ, पुण्य घिमिरे, शिशिर थापा, मदन तिम्सिना, रीता खनाल, मुकुन्दप्रसाद प्रसाईं, केशव रुपाखेती लगायतले आआफ्नो रचना वाचन गर्नु भएको थियो भने कवि आविष्कार कला र कवि विष्णु आचार्य “अतृप्त”ले विमोचित कवितासङ्ग्रह “घर फर्कने तिर्खा” बाट एक-एक वटा कविता वाचन गर्नु भएको थियो ।

सोही दिन सम्पन्न भएको विध्युतकर्मी साहित्यिक समाजको सातौं अधिवेशनले कृष्णदेव रिमाल “शब्दसेना” को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपले चयन गरेको छ।

समितिका अन्य पदाधिकारीहरूमा शारदादेवी भट्टराई पोख्रेल (उपाध्यक्ष), विष्णु आचार्य “अतृप्त”( सचिव), शारदा पराजुली (सहसचिव), मुकुन्दप्रसाद प्रसाईं (कोषाध्यक्ष) रहनु भएको छ भने सदस्यहरूमा सङ्गीता अधिकारी पौडेल, आविष्कार कला, रीता खनाल, भोला शर्मा, मनुकुमारी पुलामी र बलराम पुडासैनी रहनु भएको छ ।

विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमालको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रममा समाजकी सदस्य सङ्गीता अधिकारी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल विध्युत प्राधिकरणमा साहित्यको जग बसाउन अहोरात्र खटिनु भएका स्रस्टाहरू जुजुकाजी रन्जित, कुलप्रसाद पराजुली, पुन्य घिमिरे, रामेश्वर राउत “मातृदास”, विष्णुबहादुर सिंह, कृष्णमोहन जोशी, मन्जुलाल श्रेष्ठ, मोहनकृष्ण उप्रेती, राजु शर्मा, विन्दु शर्मा, वाइ. आर. घले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशेष अतिथि र निर्वाचक मण्डलका पदाधिकारीहरूलाई समाजको तर्फबाट “मायाको चिनो” प्रदान गरिएको थियो।