
मनोज पण्डितले फिल्म क्षेत्रमा प्रवेश गरेको २० वर्ष भयो । फिल्म ‘लक्ष्य’ बाट उनले आफ्नो निर्देशकीय यात्रा थालेका थिए । ‘वधशाला’, ‘दासढुङ्गा’, ‘खाग’ र लघु फिल्म ‘छाया’ उनले निर्देशन गरेका फिल्महरू हुन् । पछिल्लो समय उनको फिल्म ‘एक’को चर्चामा छ ।
कुनै समय उनी फिल्मको समीक्षासमेत लेख्थे । फिल्म लेखन, निर्देशनमा सक्रिय उनले हालै ‘सिनेमा मन्थन’ पुस्तक पनि बजारमा ल्याएका छन् ।
प्रस्तुत छ, ‘एक’ का निर्देशक मनोज पण्डितसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले गरेको कुराकानीको सम्पादित अंश-
‘सिनेमा मन्थन’ किन लेख्नुभयो ? कोरोनाकालको सदुपयोग मात्र हो कि अरू पनि केही छ ?
ठ्याक्कै भन्नुपर्दा किताबचाहिँ मेरो कुण्ठाबाट निस्किएको हो । मलाई लेखक/साहित्यकारहरूसँग असाध्यै लोभ/डाहा लाग्छ । पहिलो सर्जक/लेखक, जसले आफ्नो बेग्लै संसार, विचार, अचम्मका पात्रहरू निर्माण गर्न सक्छ र त्यही लोभले गर्दा मलाई पनि लाग्यो, मैले पनि आफ्नै संसार बनाउनुपर्छ ।
लेख्न त म कुनै आख्यान पनि लेख्न सक्थेँ तर मैले गैरआख्यान रोजेँ किनभने मसँग सिनेमा क्षेत्रमा लामो समय काम गरेको अनुभव थियो र त्यसलाई पुस्तकको रूपमा दिनुपर्ने आवश्यकता ठानेँ । मेरो अध्ययनको पाटालाई निश्चित संरचना दिने क्रममा सिनेमा मन्थन जन्मिएको हो ।

मनोज पण्डित, निर्देशक
‘सिनेमा मन्थन’ ले तपाईँलाई पुऱ्याएको मुख्य फाइदा के हो ?
सिनेमा मन्थन लेख्दाको क्षणले दिएको आनन्द म कुनै सिनेमा बनाउँदा आएको आनन्दसँग तुलना गर्न सक्दिनँ । यो पुस्तक करिब-करिब मेरो आधा जीवनको साधना तथा तपस्याको प्रतिफल हो ।
सिनेमा मन्थन दुई कारणले गर्दा मेरो लागि महत्त्वपूर्ण भयो । पहिलो, यस किताब मैले ठाउँ-ठाउँमा गर्ने बहस र सिनेमालाई लिएर मेरो दृष्टि सङ्ग्रहित भयो । अब मैले कसैलाई व्यक्तिगत रूपमा सुझाव वा सल्लाह दिन नपर्ने भयो । अर्कोचाहिँ, अब सिनेमा क्षेत्रमा आउने पुस्ताले यस पुस्तकले आउनुपूर्व नै यस क्षेत्रको विविध पक्षका बारेमा बुझाउँछ । जसले गर्दा हाम्रो फिल्म मेकिङको समाजको अध्ययनको दायरा फराकिलो पनि बनाउनेछ । मलाई लाग्छ, आजभन्दा भोलि सिनेमा मन्थन झन् झन् आवश्यक र महत्त्वपूर्ण बन्दै जानेछ ।
यस पुस्तकको भाग दुई आउने सम्भावना कतिको छ ?
भाग दुईभन्दा पनि अब यसलाई सौद्धान्तिकीकरण गर्ने आवश्यकता महसुस गरेको छु मैले । विभिन्न पक्ष तथा कोणबाट सिनेमालाई कसरी हेर्ने, कसरी बुझ्ने ?, लगायत प्रश्नहरुमा काम गर्नुछ । त्यसका लागि पक्कै पनि मलाई अरू केही वर्ष लाग्ला तर अर्को एक नयाँ कृतिमा चाहिँ काम गर्दै छु ।
कस्तो कृति ?
मेरा लागि कुनै पनि मान्छे कथाभन्दा पर केही पनि होइन । मेरो मानवता अब कथात्मकता भयो । म जहाँ जे देख्छु, जसलाई भेट्छु ती सबै मेरा लागि कथा हुन् तर मलाई लाग्छ, जे देख्यो त्यही लेख्यो भने कथा हुँदैन । कथा त निर्माण गर्ने कुरो हो । कथा बनाउन सकिने कुरो हो भने मान्छे पनि त बनाउन सकिने रैछ । म कस्तो भन्ने भनेर आफ्नो कथा म आफैँ निमार्ण गर्न पनि त सक्ने रहेछु । अब मलाई के प्रश्नले खेदाएको छ भने, कस्तो-कस्तो मान्छे बनाउन सकिन्छन त ? र अबको लेखन यही प्रश्नको वरिपरि रहन सक्छ ।
सिनेमाको कुरा गरौँ, ‘एक’ को अवधारण के हो ?
मलाई व्यक्तिगत रूपमा मानिसका लागि सबैभन्दा महत्त्वपूर्ण कुनै अवधारणा छ भने त्यो सुरक्षा हो भन्ने लाग्छ । बाल्यकालदेखि नै म सधैँ असुरक्षित मान्छे । असुरक्षित भएकै कारण मलाई कहीँ न कहीँ आफू दह्रो (स्ट्रङ) हुनुपर्छ भन्ने अनुभूति हुन्थ्यो ।
पछिल्लो समय मलाई महसुस भयो, मजस्तै मेरो देश पनि असुरक्षित छ । ग्रेटर नेपालको निमार्णपछि देश कुन तहमा कमजोर र असुरक्षित छ भन्ने कुराको ज्ञान भयो । मलाई सेनाले देश जोगाउँछ भन्ने कुरमा विश्वास छैन । सेना युद्धमा मात्र काम लाग्ने हो । देशलाई दह्रो (सुरक्षित) बनाउन एउटा दर्बिलो गुप्तचरी संरचना चाहिन्छ, जसले देशलाई हुन सक्ने खतराबाट जोगाउनेछ । यदि देशमा एक दर्बिलो गुप्तचरी संस्था हुने हो भने हिंसात्मक परिस्थितिको सामाना गर्ने परिस्थिति नै रहँदैन ।
असुरक्षाका कारण मसँग एउटा अवधारणा थियो, गुप्तचरी संस्थाको । मैले त्यही अवधारणालाई एक गुप्तचर एजेन्टका रूपमा प्रस्तुत गर्दा ‘एक’ बनेको हो ।
अर्कातर्फ, ग्रेटर नेपालमा सीमा मिचिएकोसम्मका कुरा थिए तर अहिले त नेपालको ठूलो भूभाग (मधेस) नै देशबाट अलग हुने भन्ने एउटा अवधारणाको विकास भइरहेको छ । मलाई लाग्छ, त्यस अवधारणामाथि विदेशी शक्तिहरूको भावना मिसिएको छ । त्यस्तै, मधेसमा राज्यप्रतिको निराशा व्यप्त छ । उनीहरू एक्लो अनुभव गरिरहेका छन् । त्यस एक्लोपन र निराशा कुनै पनि बेला विस्फोट हुन सक्छ र अगल देश बनाउने अवधारणालाई बल पुऱ्याउन सक्छ । यस्ता कुराले कसलाई फाइदा पुऱ्याउँछ त थाहा छैन तर नेपाललाई घाटा पुऱ्याउँछ । त्यसैले, देश जोगाउने संयन्त्रको विकास गर्ने अवधारणास्वरूप ‘एक’ जन्मेको हो ।
र यिनै दुई अवधारणाका पृष्ठभूमिका टेकेर समग्रमा ‘एक’ बनेको हो ।
अगाडिका ‘छ’ भन्दा ‘एक’ कसरी फरक बनेको छ ?
म अघिल्ला सिनेमाभन्दा ‘एक’ लाई नितान्त फरक छ भनेर मान्दिनँ । देशलाई सुरक्षित बनाउनुपर्छ भन्ने अवधारणमा बनेको यो ग्रेटर नेपालको अर्को शृङ्खला हो । दासढुङ्गा र वधशालाभन्दा चाहिँ ‘एक’ फरक छ । ‘छाया’ र ‘खाग’ को त उद्देश्य नै फरक थियो । ‘एक’ मा चाहिँ मैले बाल्यकालबाटै आफूमा व्यप्त कमजोरीलाई प्रस्तुत गरेको छु । त्यो के भने, म लड्न सक्दिन थिएँ । लड्न जाँदा पनि म सधैँ कुटाइ खाने मान्छे हुँ तर ‘एक’ मा चाहिँ म पात्रहरूका माध्यमबाट लडेको छु । ‘हामी लड्न सक्छौँ’ भन्ने मनोविज्ञानलाई पात्रहरूको माध्यमबाट स्थापित गराएको छु ।
मेरो मान्यता छ, युद्ध अपराध होइन । आफ्नो सुरक्षाका लागि संसारमा युद्ध हुन्छ । पछिल्लो समय तालिवानले गरेका युद्ध सही छ, उनीहरूका लागि । तालिवानहरूसँग पञ्जशिरमा भइरहेको युद्ध पनि सही छ, उनीहरूका तर्फबाट । यहाँ जोकोहीले आफ्नो स्वाधीनता र शक्तिका लागि लडिरहनुपर्छ । हामी पनि एक किसिमको युद्धमै छौँ र युद्धको तयारी गर्नुपर्छ भन्ने स्पष्टताचाहिँ मैले ‘एक’ मा प्रस्तुत गरेको छु ।
तपाईँले बनाएका फिल्महरूमा केही न केही विवाद आइ नै हाल्छन् । विवादका कारण फिल्म रोकिने सम्भावना पनि रहन्छ । ‘एक’ को विषयमा चाहिँ के देख्नुहुन्छ ?
मलाई लाग्यो, यो फिल्म अघिल्ला फिल्महरूभन्दा धेरै विवादित हुन्छ । यो फिल्म कुनै शक्तिका लागि रोक्नैपर्ने आवश्यकता पनि बन्न सक्छ । किनभने मैले ‘एक’ मा अझै ठाडो भाकामा भनेको छु कि, मेरो देशलाई छिमेकी तथा शक्तिशाली देशहरूको गुप्तचरी एजेन्टहरू खेल्ने मैदान बनेको छ र यहाँ उनीहरूका स्वार्थहरू अत्यन्तै धेरै हाबी भइरहेका छन् ।
जस्तै, अहिले एमसिसीका विषयमा तर्कवितर्कहरू चलिरहेका छन् । म स्वयंलाई पनि पढ्दाखेरि त्यहाँका धेरै बुँदाहरू सामान्य नै लागे तर एमसिसी भनेको नितान्त एउटा सहयोगी निकायमात्र हो त ? एमसिसी भनेको सिआइए हुन सक्दैन ? सिआइएको सहयोगी रूप एमसिसी हुन सक्दैन ? यस किसिमका शङ्काहरू पनि छन् र शङ्का हुन आवश्यक छ । मलाई के कुरामा चाहिँ खुसी लागेको छ भने, कमसेकम हामी नेपालीहरूले शङ्का गर्नचाहिँ सिक्यौँ र मैले पनि ‘एक’ का माध्यमबाट त्यस्ता धेरै संस्था, निकाय तथा शक्तिहरूमाथि शङ्का गरेको छु ।
तपाईँको फिल्म बृहत् (देशव्यापी) रूपमा रिजिल हुने, भयङ्कर हिट हुने खालका हुँदैनन् तर सीमित पकेट दर्शक भने छन् तपाईँका, जसका सामु आफ्नो फिल्मलाई तपाईँले जसरी पनि पुऱ्याइहाल्नुहुन्छ । यो अवस्थामा, तपाईँको फिल्म रोकेर चाहिँ उनीहरूलाई के फाइदा हुन्छ ?
मलाई पछिल्लो समय बोध भएको कुरा के हो भने, म दर्शकका लागि फिल्म बनाउदिनँ रहेछु । ‘एक’ पनि मैले नितान्त दर्शकका लागि बनाएको होइन भन्ने कुरामा म स्पष्ट छु तर बनाउने क्रममा दर्शकलाई पनि देखाउनुपर्छ भन्ने अवधारणहरू चाहिँ जोडिँदै जान्छन् । मेरो सिद्धान्त के हो भने, सिनेमा दर्शक देखाउनुपर्छ तर बनाउँदाको उद्देश्य नै दर्शकलाई राखेर चाहिँ बनाउनु हुँदैन । ‘एक’ चाहिँ म आफैँले हेर्न चाहेको फिल्म हो । के कति कुरा ठूलो समूहले हेर्न चाहने कुराहरू मभित्र पनि होलान् ।
प्राथमिक कुरो त सिनेमा बनिसक्यो । सृजना भइसक्यो । सृजना यस्तो कुरा हो कि, यसलाई कसैले दबाउन खोजेर, रोकेर रोकिँदैन । प्रश्नचाहिँ के हो भने, यस सिनेमाले मासमा डिस्कोर्स क्रिएट गर्ला कि भनेर जहिले पनि शासक, सत्ता र शक्तिहरू मसँग डराएको अवस्था छ । ग्रेटर नेपालका बेलामा भारत डरायो, रोक्न खोज्यो । दासढुङ्गाका बेलामा एमाले डरायो, रोक्न खोज्यो । वधशालाका बेलामा सेना डरायो, रोक्न खोज्यो तर त्यसले कसैलाई पनि फाइदा भएन । उनीहरूले जति रोक्न खोजे, बहस उति बढ्यो ।
अँ, यसपालि पनि देशीविदेशी गुप्तचर शक्तिहरू ‘एक’ लाई रोक्नका लागि लाग्नेछन् तर त्यसलाई अन्ततः उनीहरूलाई फाइदा गर्दैन किनकि सृजना वस्तु होइन जसले उनीहरूले वशमा राख्न सकून् । यो त एउटा अवधारणा हो, जुन जुनसुकै माध्यमबाट पनि सञ्चारित हुन सक्छ । त्यसैले, मलाई रोक्छन् भन्ने कुराको चिन्ता छैन । के कुराको चाहिँ चिन्ता छ भने, मैले बहसलाई जतातर्फ डोऱ्याउन खोजेको छु त्यतातिर जान्छ कि जाँदैन ? नेपालको केन्द्रीय राजनीतिले मधेसलाई गरेको जुन बेवास्ता छ, त्यसले निम्त्याउन सक्ने सम्भाव्य दुर्घटनातर्फ मान्छेका ध्यानाकर्षण हुन्छ कि हुँदैन ?
पछिल्लो समय भारतले जसरी ‘रअ’ को कामलाई फिल्मका माध्यमबाट ग्लोरिफाई गर्ने काम गरिरहेको छ, त्यसबाट अहिले तपाईँले बनाउनुभएको फिल्ममा कसरी फरक छ ?
अहिले भारतको कन्टेक्स्टमा ‘रअ’ लाई ग्लोरिफाई गर्नुपर्ने आवश्यकता छ किनकि उनीहरूका लागि, देशको स्वार्थका लागि ‘रअ’ ले भूमिका खेलेको छ तर दुर्भाग्य के हो भने, जब ती सिनेमाहरू नेपालमा रिजिल हुन्छन्, नेपालीहरू हेरेर रमाउँछन् । के कुरा बिर्सिन्छन् भने, हामी आज त्यही ‘रअ’ को चलखेलका कारणले अस्थिर अवस्थामा छौँ । ‘रअ’ माथि बनेका चलचित्रहरू हेरेर रमाउनु, प्रशंसा गर्नुभनेको हामीले आफ्नै स्वाधीनतालाई वधक बनाउनुजस्तो हो ।
भारतमा लागि ‘रअ’ भएजस्तै ‘सिएसआई’ राम्रो राष्ट्रियताका लागि आवश्यक छ । ‘एक’ हेर्नु भनेको सिनेमाका हिसाबमा कमीकमजोरी होलान् तर राष्ट्रियताका लागि भोट हो । ‘एक’ ले कहीँ न कहीँ हाम्रो स्वाधीनताको आवाज बोलेको छ र त्यसमा हाम्रो समर्थन छ भन्नु हो । कल्पना गरौँ, यदि नेपालमा दश लाख जनताले ‘एक’ हेरे । अब के हुन्छ ? घर-घरमा यसले उठाएका मुद्दाहरूमा बहस हुन थाल्छ । भालि के थाहा, आफ्नो राष्ट्रियता बलियो बनाउने ‘सिएसआई’ जस्तो संस्थाको निर्माण हुन्छ कि !
वर्तमान अवस्थामा हामीकहाँ अश्लील राष्ट्रवाद हाबी भइरहेको छ । यसबाट ‘एक’ कसरी जोगिएको छ ?
मेरो राष्ट्रवाद नितान्त देशको स्वार्थसँग सम्बन्धित छ । गेटर नेपाल बनाउँदा पृष्ठभूमिबाटै मेरो मान्यता आफ्नो भूगोललाई जोगाउनुपर्छ भन्ने हो । देश बलियो हुने नेता पनि बलियो हुनुपर्छ भनेर मैले राम्रो नेताको मृत्युप्रति दासढुङ्गामा पनि प्रश्न गरेकै हो । त्यतिमात्र पनि होइन, राष्ट्रियताको अर्को पक्षमा चाहिँ मैले देशको सुरक्षा संयन्त्रमाथि पनि प्रश्न गरेको हो । यो देशको भूगोलमा जनतामात्र होइन, जनवार तथा पशुपक्षी पनि बाँच्न पाउनुपर्छ भन्ने राष्ट्रियताको कुरा गरेको हो । म राजनीतिक चेतका साथ सिनेमा बनाउँछु । ‘एक’ को पछाडिको राजनीतिक स्टेटमेन्ट हो, ‘राष्ट्रलाई बलियो बनाउन सकेमात्र नागरिकको जीवन समृद्ध हुन्छ ।’
‘एक’ मा मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, छ त केवल देशको छ । म सिनेमाको माध्यमबाट काल्पनिक रूपमा एउटा यस्तो संयन्त्रको निमार्ण गर्दै छु जसले देशलाई योगदान दिओस् । देशी विदेशी चलखेलबाट उत्पन्न अस्थिरताबाट देशलाई बचाओस् तर बनाउने क्रममा, स्रोतहरूको उपलब्धता, ज्ञानको सीमितताले कहीँकतै सिनेमालाई अलिकति असहज भएको छ तर पनि ‘एक’ले एउटा डिफिन्डिङ फोर्स तयार गरोस् भन्ने कुरालाई ध्यानमा राखेर सिनेमा बनाएको छु ।
सात ओटा फिल्मको दौरान कसरी आफूलाई तथा फिल्मलाई एकपछि अर्कामा अपग्रेट गर्दै लगिरहेको छु जस्तो लाग्छ ?
मैले अहिलेसम्मको मेरो सिनेमा मेकिङलाई दुई फेजमा बाँडेर हेरेको छु । ‘सिनेमा मन्थन’ लेखनपूर्व र लेखिसकेपछि । जीवचक्रबाहेक जति पनि सृजनाहरू मैले गरेँ, ती सिनेमा मन्थनभन्दा अगाडिको फेजका हुन् । ‘दासढुङ्गा’ लाई चाहिँ म एकदमै क्लेभर फिल्म मेकिङ मान्दछु । वधशालालाई एकदमै प्यासेनेट फिल्म मेकिङ मान्छु भने लक्ष्यलाई इनोसेन्स मेकिङ मान्दछु । ग्रेटर नेपालचाहिँ अहिलेसम्मकै मेरो सबैभन्दा उत्कृष्ट सृजना हो । ग्रेटर नेपाल मैले बनाइनँ, ममार्फत बनेको मात्र हो, जसमाथि म आजीवन गर्व गर्न सक्छु ।
अब ‘एक’चाहिँ ‘दासढुङ्गा’ जस्तै क्लेभर सिनेमा हो । यसमा मभित्रको मेकिङकै क्रममा विकास भएको ‘यसलाई चाहिँ मासमा पुऱ्याउनुपर्छ’ भन्ने चाहना पनि मिसिएको छ । अर्को कुरा, ‘एक’ चाहिँ मेरो किशोरावस्थाबाट युवावस्थामा प्रवेश गर्दाखेरि जुन जेनेराको फिल्म मन पराउँथेँ त्यसको प्रतिबिम्ब छ । यसमा मेरो युवावस्थामा प्रवेस गर्दै गर्दाको रिस, आवेग तथा कुण्ठा मिसिएको छ । त्यसैले ‘एक’ मेरा अघिल्ला सिनेमाहरूभन्दा धेरै फरक छ ।
नाम ‘एक’ नै चाहिँ किन ?
मलाई लाग्छ, ‘एक’ वास्तवमै ठूलो पोलिटिकल शब्द हो । संसारमा हरेक कुराको शून्यबाट हुन्छ तर शून्य अभौतिक तत्त्व हो । भौतिकमा चाहिँ सबैभन्दा ठूलो एक हो ।
संसारमा सबैभन्दा ठूलो द्वन्द्व नै ‘एक’ सँग छ । एक हुन चहाने, एकबाट छुट्टिन चाहने, एक बनाउन चाहनेहरू बीच द्वन्द्व भइरहन्छ । मार्क्सवादले ‘मदजुरहरू एक हौँ’ भन्छ । शासकहरू जनतालाई आफूमा एक बनाउन चाहिन्छन् । आन्दोलनकारीहरू आन्दोलनमा एक भएर लाग्न आह्वान गर्छन् । त्यसैले ‘एक’ सबैभन्दा डाइनामिक शब्द (अङ्क) हो ।
यस फिल्ममा चाहिँ ‘एक’ धेरै तहमा विभाजित भएर रहेको छ र मेरा लागि ‘एक’ चाहिँ देश हो । प्रारम्भ हो । शक्ति हो ।
पल्बिसाइजको हिसाब फिल्ममा तपाईँ नै हाबी हुनुहुन्छ । स्टारकास्ट गरेर बनाउने बारे किन सोच्नु भएन ?
मलाई स्टारसँग काम गर्नुमा कुनै इच्छा छैन । घमन्डजस्तो सुनिएला तर म स्टार जन्माउने निर्देशक हुँ । स्टारडमको भारी बोक्नुभएकाहरूसँग काम गर्दा मलाई असहज फिल हुन्छ । मलाई चाहिने भनेको ‘रअ’ चिज हो र ‘रअ’ चिजलाई लिएर फिल्म बनाउनु मेरो सोख पनि हो । त्यसैले मलाई लाग्छ, म जीवनचक्रजस्तो फिल्म बाटामा हिँड्दै गरेको मान्छेलाई लिएर पनि सक्छु । घमन्डजस्तो सुनिएला तर यो मेरो आफैँप्रतिको विश्वास हो ।
अँ ‘एक’ मा चाहिँ त्यस्ता कलाकारहरू छन् जसमा कलाकार भएर काम गर्न सक्ने क्षमता अत्यन्तै धेरै छ तर उनीहरूसँग स्टारडम छैन र मलाई त्यसले कुनै फरक पार्दैन ।
यसको बजेट कस्तो छ ?
तपाईँ के मान्नुहोस् भने नेपालमा सबैभन्दा सानो लगानीमा फिल्म बनाउने मान्छे म हुँ । मेरो कलाकारमा खर्च कम मात्र छैन, दुई छाकको ठाउँमा एक छाकमात्र मासु खाएर फिल्म बनाउने मान्छे हुँ म । यतिचाहिँ भनौँ, यो अत्यन्तै कम बजेटमा बनेको फिल्म हो ।
बिजनेसलाई लिएर कतिको सकारात्मक हुनुहुन्छ ?
मलाई लाग्छ, ‘एक’बाट जे पनि हुन सक्छ र हुन सक्ने सबै सम्भावनाका बारेमा म सचेत छु ।
साँचो भन्दा, सिने बजारले मलाई गन्दैन । मलाई सिनेमा हलमै फिल्म रिलिज गर्नुपर्छ भन्ने कुरामा विश्वास पनि छैन । यदि तपाईँले हलमा भिड जम्मा गर्न सक्नु भएन भने सिनेमा मेकर बन्न सक्नु हुन्न तर म भिडका लागि सिनेमा बनाउदिन र यदि तपाईँ भिडका लागि सिनेमा बनाउनु हुन्न भने विकल्प खोज्नुपर्छ ।
म ‘एक’ लाई हलमा रिलिज गर्ने तयारीमा पनि छैन । यो फिल्म ओटिटी प्याटफर्ममा रिलिज हुन्छ । असोज २१ गतेबाट ‘एक’ डिजिटल प्लाटफर्ममा आउँछ । अबको भरपर्दो प्लाटफर्मका रूपमा मैले ओटिटीलाई नै लिएको छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

कतिपय पुरस्कारका निर्णायकहरू नै लेखकहरूका प्रतिस्पर्धी हुन्छन् – महेश पौड्याल
